काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जारी आचारसंहिता अनुसार चुनावी प्रचार–प्रसारमा चुनाव चिह्न अंकित कपडा वा सामग्री प्रयोग गर्न नपाइने भएको छ।

निर्वाचन आयोगले तयार पारेको आचारसंहिताको बुँदा नम्बर १३ ले राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरण स्पष्ट रूपमा निर्धारण गरेको छ। सबै गतिविधि सभ्य, मर्यादित र अनुशासित ढङ्गले गर्नुपर्ने प्रावधान राखिएको छ।
अनुमति बिना सार्वजनिक स्थानमा जुलुस वा सभा आयोजना गर्न नपाइने तथा कुनै कार्यक्रम अघि स्थानीय प्रशासन र प्रहरीलाई कम्तीमा २४ घण्टा अगावै मिति, समय, मार्ग र स्थानको जानकारी दिनु पर्ने पनि आचारसंहितामा उल्लेख छ।
आचारसंहितामा भनिएको छ , जुलुस, सभा वा प्रचार–प्रसारमा सहभागी व्यक्तिले दल वा उम्मेदवारको चुनाव चिह्न, झण्डा वा लोगो अंकित टोपी, क्याप, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट वा झोला प्रयोग गर्न पाइने छैन ।
यद्यपि, उम्मेदवारले कागजी पर्चा मार्फत आफ्नो वा दलको पहिचानसम्बन्धी विवरण वितरण गर्न भने पाउने व्यवस्था छ।














