काठमाडौं । बङ्गलादेशले भारतमा रहेकी शेख हसिना र असदुज्जमान खान कमलको सुपुर्दगीको माग गरेको छ । बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएपछि बङ्गलादेशको विदेश मन्त्रालयले हसिना र कमललाई सुपुर्दगी गर्न माग गरेको हो ।

विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले फरार शेख हसिना र असदुज्जमान खान कमललाई दोषी ठहराएको उल्लेख गर्दै दुवै दोषीलाई तुरुन्तै बङ्गलादेशी अधिकारीहरूलाई सुम्पन भारतसँग माग गरेको छ ।
साथै बङ्गलादेशले मानवता विरुद्धको अपराधमा दोषी ठहरिएका यी व्यक्तिहरूलाई शरण दिने कुनै पनि देशले मित्रवत व्यवहार र न्यायको गम्भीर अवहेलना गर्ने कार्य हुने समेत बताएको छ ।
बङ्गलादेशको विदेश मन्त्रालयले भनेको छ-‘हामी भारत सरकारले दुवै दोषीलाई तुरुन्तै बङ्गलादेशी अधिकारीहरूलाई सुम्पन माग गर्दछौँ । यो दुई देशहरू बीचको सुपुर्दगी सन्धि अन्तर्गत भारतको दायित्व हो ।’
यसअघि पनि बङ्गलादेशले आधिकारिक रूपमा शेख हसिनाको फिर्ताको लागि अनुरोध गर्ने धेरै पत्रहरू पठाएको छ । यद्यपि, भारतले यी अनुरोधहरूको जवाफ दिएको छैन ।











