
काठमाडौं । बुटवलबाट पूर्वतर्फ जाँदै गरेको कार नवलपरासीको भुमहीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार भुमहीको बडेरामा पुलबाट खोलामा खस्दा अर्घाखाँचीको धातिवाङका मणिराम पौडेलको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवल नवलपरासीले जनाएको छ ।दुर्घटनामा कार चालक हरिसचन्द्र पौडेल सामान्य घाइते भएका छन् । मृतक मणिराम हरिसचन्द्रका बुवा हुन् ।
प्रहरीका अनुसार बाबु–छोरा अर्घाखाँचीबाट काठमाडौं आउँदै गर्दा दुर्घटनामा परेको पाइएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।
घटनास्थलको प्रकृतिलाई हेर्दा तीव्र गतिका कारण अनियन्त्रित भई कार पुलदेखि तल खोलामा खसेको हुनसक्ने प्रहरीको भनाइ छ ।














