
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख सुरक्षित रहेको बताएको छ । आयोगले विज्ञप्ति जारी गर्दै वेबसाइट र सूचना प्रणाली सुरक्षित रहेको, गोप्य सूचनामा कसैको पहुँच नभएको र सुरक्षामा कुनै समस्या नरहेको दाबी गरेको हो ।
आयोगको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरू फेला पारेको भनी बाहिर हल्ला चलाइएको थियो । उक्त हल्लाको खण्डन गर्दै आयोगले मतदाता नामावलीसम्बन्धी सूचना कुनै पनि अनधिकृत व्यक्तिको पहुँचमा नपुगेको, नागरिकका कानूनबमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध जनाएको छ ।
‘यसबारे सामाजिक सञ्जालमा राखिएका र साझा गरिएका दाबीहरूप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन र मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ,’ आयोगले भनेको छ, ‘नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिवद्ध रहेको छ ।’
सामाजिक सञ्जालहरूमा निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको भनी देखाइएका पीडीएफ फाइल आयोगले विगतमा निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामग्री भएको जनाएको छ ।















