काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको महाधिवेशन विवादका बीच कडा सन्देश दिएका छन् -‘हामी न झुक्छौँ, न झुक्किन्छौँ ।’

मंगलबार आफ्नो फेसबुक पेजमा भिडियो सन्देश जारी गर्दै थापाले भने, ‘यो बहस अब महाधिवेशनको मिति मात्र होइन, कांग्रेसलाई कसरी सुधार्ने भन्ने हो । जनताले दिएको सन्देश स्पष्ट छ-पुरानै शैलीले अब चल्दैन । सुधारबिना विश्वास फर्किँदैन ।’
आगामी पुस १६ भित्र नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्ने अडान दोहोर्याउँदै उनले नेता-कार्यकर्तालाई धैर्य गर्न आग्रह गरे । ‘सबै साथीहरूलाई अनुरोध छ-धैर्य गर्नुहोस् । हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसको रूपमा । सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, बलियो बन्छ,’ थापाले भने ।
पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासहित केही शीर्ष नेताहरूले महाधिवेशन लम्ब्याउने प्रयास गरिरहेको आरोप लागिरहेका बेला थापाको सो प्रतिक्रिया दिएका हुन् ।














