काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित स्थानीयले सरकारले बारम्बार धोका दिएको भन्दै बुधवार देखि पुनः फोहोर विसर्जन ठप्प पार्ने घोषणा गरेका छन् । आज मङ्गलवार धारेमा आयोजित पत्रकार सम्मेलनमा धुनिबेशी, ककनी र बेलकोटगढीका बासिन्दाले १५ दिने अल्टिमेटम सकिँदा पनि कुनै माग पूरा नभएको भन्दै निर्णायक आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।

गत कात्तिक १२ मा फोहोर रोकेपछि सहरी विकासमन्त्री कुलमान घिसिङ स्वयं बञ्चरेडाँडा पुगेर १५ दिनभित्र माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएका थिए । सोही विश्वासमा अवरोध हटाइएको थियो । तर, समयसीमा सकिँदा पनि दुर्गन्ध नियन्त्रण, लिच्चड व्यवस्थापन, स्वास्थ्य सुविधा, रोजगारीलगायत कुनै बुँदा कार्यान्वयन नभएको स्थानीयको गुनासो छ ।
‘कुलमानजीले १५ दिन माग्नुभयो, हामीले दिएँ । तर, मन्त्रालय र महानगरले एकअर्कालाई देखाउँदै हामीलाई फेरि ठग्यो,’ पीडितले भने । अर्का अगुवा नीराजन सञ्जेलले मेयर बालेन शाहले साढे तीन वर्षदेखि झुलाएको र मुद्दा लगाएको आरोप लगाए ।
ककनीकी सुमित्रा घिमिरे ढकालले अब कसैको आश्वासनमा नपर्ने भन्दै सधैँका लागि फोहोर रोक्ने निर्णयमा पुगेको बताइन् । यसअघि २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमति पनि अझै अलपत्र छ । फोहोरको दुर्गन्ध र लिच्चडका कारण स्थानीयमा दीर्घरोग र सरुवा रोगको जोखिम बढ्दै गएको छ । सोमबार प्रधानमन्त्री सुशीला कार्कीले उपत्यकाका मेयरहरूसँग छलफल गरेकी थिइन् तर मेयर बालेन अनुपस्थित थिए । फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान नखोजेसम्म बञ्चरेडाँडावासीको आन्दोलन नरोकिने निश्चित छ ।











