Logo
Logo

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरू


189
Shares

काठमाडौैं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि सिधा भुटान उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)ले आजदेखि उडान थालेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भुटान एयरको पोखरा–पारो (भुटान) सिधा उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट औपचारिक रूपमा शुभारम्भ भएको बताए ।

यूटीटीले यसअघि नै गत असोज १२ देखि चारवटा चार्टर उडान गर्नेगरी तालिका तय गरेको थियो । तर, जेनजी आन्दोलनका कारणले उडान हुन सकेको थिएन ।

भुटान एयरलाइन्स एक सय २६ सिट क्षमताको हो । ट्राभल्सले चार्टर उडानसहित ट्राभल्स प्याकेजसमेत बनाएको छ । सो प्याकेज चार रात र पाँच दिनको रहेको छ । पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडान सुरु हुनुले दुवै देशको पर्यटन प्रवद्र्धन सहयोग पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन् ।

पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ । जसअनुसार यहाँबाट हुने अन्तरराष्ट्रिय उडानबाट पाउने सम्पूर्ण शुल्क छुट दिइएको छ । नेपाल वायुसेवा निगमले दिने ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नुपर्दैन ।

यी दुई विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएको हो । सरकारले ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको हो ।

यी दुई विमानस्थलको अन्तरराष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु तीन हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ । यी दुवै विमानस्थलको अन्तरराष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण तथा नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ ।

हाल भुटानबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, काठमाडौँमा भुटान एयरलायन्सले सातामा चार वटा उडान भर्दै आएको छ । यसअघि गत असार ७ गते चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो । पोखराबाटै छेन्दुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ ।

त्यस्तै सिचुवानले पोखरा–सिचुवान–अष्ट्रेलिया उडानको पहलसमेत गरिरहेको छ । यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अष्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलो पटक २०८० असार ६ गते पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो ।

असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो । हाल हिमालय एयरलायन्सले ल्हासाको नियमित उडान गरिरहेको छ ।

हिमालय एयरलाइन्सले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ । काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्ने गरी हिमालयले उडान सञ्चालन गरिरहेको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान थालेको थियो ।

हिमालयका साथै सिचुवान र भुटान एयरलाइन्सको उडान भएमा यसबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थल चलायमान बन्ने र विश्वका विभिन्न गन्तव्य जाने यात्रुका लागि पनि सहज हुने विश्वास लिइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल १७ पुस २०७९ मा उद्घाटन गरिएको थियो ।

तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल करिब २२ अर्ब लागतमा निर्माण भएको हो । वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमताको विमानस्थलमा दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ ।

प्रतिक्रिया दिनुहोस्