
काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित जेनजी युवाहरुको समूहले बाराको सिमरा विमानस्थलको गेट तोडफोड गरेको छ ।
एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली सिमरा जाने सूचना पाएपछि उनीहरुको विरोधमा उत्रिएका केही युवाहरुले विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका हुन् ।
विमानस्थलको मुख्य गेटमा दुई जना मात्र प्रहरी तैनाथ थिए । युवाहरुले विमानस्थलको गेट बाहिरबाट धकेल्न थालेपछि भित्रबाट ती प्रहरीहरुले रोक्न खोजेका थिए । तर प्रहरीहरुले सकेनन् ।
गेट भाँचिएर प्रहरीकै माथि खसेको थियो । त्यसपछि केही युवाहरु भित्र छिरेका थिए । तर केहीबेरमै उनीहरुलाई प्रहरीले बाहिर निकालेको थियो ।
एमाले नेताहरु बारा नपुग्दै स्थानीय युवा र एमाले कार्यकर्ताहरुबीच सिमरा बजारमा झडप भएपछि स्थिती नियन्त्रणमा लिन स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ ।
विमानस्थल क्षेत्रमा तनाव बढेपछि काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिमराका लागि तय भएको सबै उडान रद्द गरिएको छ ।त्यहाँ बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो । आज एकमात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो ।
तर, सिमरा तनावग्रस्त भएपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेपछि सो जहाज धावनमार्ग नपुग्दै फर्काइएको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।











