काठमाडौँ । अन्तरराष्ट्रिय बाल अधिकार दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यसै सन्दर्भमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको संयोजनमा कन्सोर्टियम नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च र जागृति बाल तथा युवा सरोकार नेपालको सहकार्यमा भर्चुअल छलफल भएको छ ।
‘बालबालिकाको विद्यामान अवस्था र हाम्रो दायित्व’ विषयक छलफलमा ५० जिल्लाका ११४ जना ‘जुम’को माध्यमबाट सहभागी भएका थिए । राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले निराशा होइन आशा जगाउनुपर्ने बताउँदै बालबालिकामा भइरहेको लगानी पर्याप्त नभएकाले नीति कार्यक्रम र बजेटमा मात्र नभएर कार्यान्वयन पक्ष पनि उत्तिकै महत्त्वपूर्ण हुने बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव गीता दाहालले बाल अधिकारको संरक्षण र सम्वर्द्धन तथा बालअधिकार अनुगमनमा आयोग प्रतिबद्ध रहेको बताइन् । त्यसैगरी गैरसरकारी संस्था महासङ्का अध्यक्ष अर्जुन भट्टराईले बालअधिकार संरक्षण समग्र नागरिक सङ्घ संस्थाको मुख्य एजेन्डा भएकाले यो विषयमा संवेदनशील भएको बताउँदै बालबालिकाको सुरक्षामा ध्यान दिन सरकारलाई अनुरोध गरे ।
आशुतोष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विकासका साझेदार संस्थाको तर्फबाट सेभ द चिल्ड्रेनका प्रतिनिधि अर्जुन थापाले बालअधिकारको विषय सबैको साझा विषय भएको हुनाले उनीहरूको संरक्षण र सम्बर्द्धनमा तिनै तहको सरकार र नागरिक सङ्घसंस्था मिलेर अगाडि बढ्न जरुरी रहेको बताए ।
कार्यक्रमका सहभागीले बालबालिकाको डिम्ब निकाल्ने नाममा हिंसा भएकाले त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ‘विद्यमान परिस्थितिमा बालबालिकाको अवस्था र हाम्रो दायित्व’ विषयमा केन्द्रीय बालकल्याण समितिका पूर्व कार्यकारी निर्देशक तथा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका पूर्व अध्यक्ष तारक धितालले प्रस्तुतीकरण गरेका थिए।














