
काठमाडौं । कान्ति बाल अस्पतालले करार सेवामा ४२ जना कर्मचारी माग गरेको छ । अस्पतालले एक सूचना जारी गर्दै अस्थायी दरबन्दीमा रहेको रिक्त पद पूर्तिका लागि नेपाली नागरिकबाट दरखास्त माग गरेको हो ।
विज्ञापनअनुसार आठौँ तहका २४ मेडिकल अधिकृत, एक वायोमेडिकल इन्जिनियर र पाँचौँ तहका १७ स्टाफ नर्ससहित कुल ४२ पदमा भर्ना हुनुपर्ने उल्लेख छ । सम्बन्धित पदका लागि नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ अनुसार तोकिएको न्यूनतम योग्यता पूरा गर्नुपर्नेछ ।
दरखास्त फाराम अस्पतालको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ । दरखास्त बुझाउने अन्तिम मिति २०८२/०८/१८सम्म तोकिएको छ । अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्टसम्म आवेदन दिन सकिने अस्पतालले जनाएको छ ।
मेडिकल अधिकृत र वायोमेडिकल इन्जिनियरका लागि परीक्षा शुल्क १,२०० रुपैयाँ र स्टाफ नर्सका लागि ७०० रुपैयाँ तोकिएको छ। परीक्षा दस्तुर हिमालयन बैंकको महाराजगञ्ज शाखामा रहेको अस्पतालको खातामा जम्मा गरी सक्कल भौचर फारामसँग संलग्न गर्नुपर्नेछ ।
तलब सुविधा नेपाल सरकारको प्रचलित दरअनुसार उपलब्ध हुने अस्पतालले जनाएको छ । दरखास्तसँग नागरिकता, शैक्षिक प्रमाणपत्र र सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । विदेशबाट अध्ययन गरेका उम्मेदवारले अनिवार्य रूपमा समकक्षता प्रमाणपत्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ । उम्मेदवारहरूको छनोट लिखित परीक्षा र अन्तर्वार्तामार्फत हुनेछ ।














