
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मिलन लिम्बुले इलामका बाढी, पहिरो पीडितलाई तत्काल विशेष राहत, पुनस्थापना तथा पुननिर्माण प्याकेज तय गरेर कार्यन्वयन गरिदिन आग्रह गरेका छन् ।
इलाममा असोज १८ र १९ गतेको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । त्यसपछि इलामलाई तीन महिनाका लागि संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।
सरकारले संकटग्रस्त जिल्ला घोषणा गरेको एक महिना बढी वितिसक्दा पनि सरकारले राहत, पुनस्थापना तथा पुननिर्माणको प्याकेज तय नगरेपछि नेता लिम्बूले ऊर्जामन्त्री कुलमान घिसिङलाई भेटेर विशेष राहत, पुनस्थापना तथा पुननिर्माण प्याकेज तय गरेर कार्यन्वयन गरिदिन आग्रह गरेका हुन् ।
इलाममा बाढीपहिरोबाट ३९ जनाको मृत्यु, दर्जनौँ घाइते र अर्बौंको आर्थिक क्षति भएको थियो । भेटका क्रममा मन्त्री घिसिङले पुननिर्माण र पुनस्थापनासँग सम्बन्धित तालुक मन्त्रालयहरुको नेतृत्व आफूले नै गरिरहेको बताउँदै विशेष प्याकेज छिटो भन्दा छिटो तय गर्न पहल गर्ने प्रतिबद्धद्धता जनाएको नेता लिम्बुले बताएका छन् ।














