काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवाहरूलाई वार्ताका लागि आह्वान गरेका छन् । जेनजी अगुवा सम्राट उपाध्यायलाई फोन गरेर प्रजिअ मिश्रले संवादबाटै समस्या समाधान गर्न वार्तामा बस्न आग्रह गरेका हुन् ।

उपाध्यायले सीडीओले संवादबाटै समाधान खोज्नुपर्ने भन्दै फोन गरेको बताए पनि आफूहरू सीडीओ कार्यालयमा जान सक्ने अवस्था नरहेको बताएका छन् । प्रहरीको लाठीचार्जबाट धेरै जेनजी युवा घाइते भएको र सीडीओ कार्यालयतर्फ जाँदा भीड पनि त्यतै जान सक्ने भएकाले थप जोखिम बढ्न सक्ने उनको भनाइ छ ।
प्रदर्शनकारीहरूले भने इलाका प्रहरी कार्यालय सिमरामै वार्ता हुनुपर्ने अडान कायम राखेका छन् ।
यता, सिमराको पछिल्लो अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो ।
बुधवार जेनजी युवाहरूले सिमरा विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरू त्यहाँ पुग्ने कार्यक्रम रहेको भन्दै विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । बुधवार साँझ ८ बजेसम्म कर्फ्यू जारी गरिएको थियो । बिहीबार पुनः अवस्था तनावपूर्ण बनेपछि सिमरा क्षेत्रमा फेरि कर्फ्यू लगाइएको छ ।














