Logo
Logo

भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज


945
Shares

हेटौंडा । भारतले नेपाललाई थप १० वटा बेली ब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो । भारतले गत वर्ष १० वटा बेली ब्रिज नेपाललाई दिएको थियो । नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो । 

The current image has no alternative text. The file name is: nepal-india.jpg

भारतले उपलब्ध गराउने १० वटामध्ये  एकवटा बेली ब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ । बाँकी नौ वटा बेली ब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने छन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार हेटौँडामा ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङलाई बेली ब्रिज हस्तान्तरण गरेका छन् । 

भारतले उपलब्ध गराएको बेली ब्रिजको लम्बाइ ७० मिटर रहेको छ । पुलको चौडाइ सिंगल लेन ४.२५ मिटर रहेको छ । पुलको भार बहन क्षमता ३८ मेट्रिक टन रहेको छ । 

पुल हस्तान्तरण समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को सङ्कटमा रहेका वेला भारतले उपलब्ध गराएको सहायतले क्षति पुगेका पूर्वाधार शीघ्र पुनर्स्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्त्वपूर्ण रहेको बताए । 

सडक, ऊर्जा, शिक्षा, स्वास्थ्य, क्षमता अभिबृद्धिलगायतका क्षेत्रमा भारत नेपालको विश्वसनीय छिमेकी रहेको उल्लेख गर्दै मन्त्री घिसिङले सङ्कटका समयमा उपलब्ध गराएको सहायताले द्विपक्षीय साझेदार अझै दह्रो देखिएको बताए । उनले भारतले नेपाललाई गर्दै आएको निरन्तर सहायोगका लागि धन्यवाद दिए । 

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सधैँ तयार रहेको बताए । यस वर्ष उपलब्ध गराइएको बेली ब्रिजको लम्बाइ केही लामो रहेकाले यसले धेरै क्षति पुगेका ठाउँमा जडान गर्न थप सहज हुने उल्लेख गर्दै उनले छनौट गरिएका ठाउँमा पुल जडानका लागि छिटै प्राविधिक टोली पनि आउने जानकारी दिए । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले प्राकृतिक विपद्ले क्षति पुर्‍याएका सडक सञ्चालनका लागि भारतकारतर्फबाट उपलब्ध हुँदै आएको वस्तुगत र प्राविधिक सहयोगका लागि धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्