काठमाडौं । बाराको सिमरामा उत्पन्न तनाव नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने दुई राउन्ड हवाई फायर गरेको छ ।

कर्फ्युको अवज्ञा गरी जेनजी प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि स्थिति नियन्त्रण गर्न बारा प्रहरीले हवाई फायर गरेको हो । बाराका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङका अनुसार चार राउन्ड अश्रुग्यास र दुई राउन्ड हवाई फायर गरिएको हो ।
प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक जना डीएसपी, एक इन्स्पेक्टर, एक असई र एक हवल्दारसहित चार जना प्रहरी कर्मचारी घाइते भएका छन् । बुधवार जेनजी समुदायका युवामाथि भएको आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै प्रदर्शनकारीहरूले निरन्तर दबाब दिइरहेका छन् ।
प्रहरीले अहिलेसम्म दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ । स्थिति अझै तनावपूर्ण रहेको र थप सुरक्षा सतर्कता अपनाइएको जनाइएको छ ।














