काठमाडौं । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने तयारी तीब्र पारेको छ, तर नेकपा एमालेले आन्दोलन चर्काउने निर्णय गरेको छ।
अधिकांश राजनीतिक दलहरूले तयारी सुरू गरिसक्दा पनि नेकपा एमाले अनिर्णित छ । उसले प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित देशव्यापी जागरण अभियान चलाइरहेको छ ।

एमालेले अहिलेसम्म चुनावमा नजाने भनेको छैन तर निर्वाचन आयोगले छलफलका लागि बोलाउँदा पनि सहभागी भइरहेको छैन । बरू नेताहरूले एउटै अभिव्यक्ति दिइरहेका छन्– ‘नहुने चुनावमा कसरी भाग लिनु ? असंवैधानिक सरकारले चुनाव गर्नै सक्दैन ।’
जेन(जी आन्दोलनपछि गतअसोज २९ देखि ३१ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि पुनर्स्थापना गर्नुपर्ने निर्णय गरे पनि चुनावका विषय मौन बस्यो । त्यसपछि एमालेका नेताहरू सरकार गठन नै असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने मागसहित सडकसम्म पुगेका छन् ।
एमालेले संसद पुर्नस्थापनाको पक्षमा सर्वोच्च अदालत जाने तयारी गर्दै कार्यकर्तालाई सडकमा उतारिसकेको छ। अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका आफ्ना पूर्व सदस्यहरुलाई डाकेर जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारसँग निर्वाचन गर्ने अधिकार नभएको स्पष्ट गर्दै सडक आन्दोलनमा उत्रिन निर्देशन दिएका छन्।
एमालेले पालिका र जिल्ला स्तरमा विरोध प्रदर्शन र सभा सम्मेलन समेत आयोजना गरिसकेको छ। साथै, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने निर्णय पनि गरिएको छ। अदालत र सडक आन्दोलन एकै साथ अघि बढाउने रणनीतिमा एमाले रहेको छ।
जेनजी आन्दोलनको बेला सैनिक हेलिकोप्टरमार्फत भागेर ज्यान जोगाएका ओली हाल अन्तरिम सरकार र जेएनजी आन्दोलनप्रति आक्रामक बनेका छन् । साथै, आगामी फागुन २१ गते तय निर्वाचन हुनै नसक्ने दाबी गरिरहेका छन् ।
काठमाडौँमा बुधबार आयोजित भेलालाई सम्बोधन ओलीले भने– ‘बाराको सिमरामा जेन जेडहरूले गरेको अवरोधप्रति लक्षित गर्दै उनले भने, ‘बारामा हाम्रो युवा भेला थियो । सिमरा एयरपोर्ट बन्द भयो । हाम्रा नेताहरू जान पाउनुभएन । जानबाट रोकियो । एयरपोर्टमै तोडफोड गर्न दिइयो । ५०–६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने ? के हो यस्तो ? अनि भन्छ चुनाव गर्ने रे ? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’
मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित पूर्व सांसदहरूको बैठकमा ओलीले जेएनजी आन्दोलन क्रान्ति नभई प्रतिक्रान्ति भएको टिप्पणी गर्दै, नेपालमा अराजक गतिविधि गर्नेहरूमाथि कडा कारबाही हुने चेतावनी पनि दिएका थिए।
पूर्व सत्ता सहयात्री दल नेपाली कांग्रेसको पर्खाइमा रहेका ओलीले आफ्ना पूर्व सांसदहरुलाई संसद पुर्नस्थापनाका लागि अदालत र सडकमा जाने रणनीति व्रिफिङ गर्दै आन्दोलनमा सक्रिय हुन निर्देशन दिएका छन्। बैठकमा सहभागी नेताहरूले जेएनजी पुस्ताका माग पूरा गर्न संसद पुर्नस्थापनाको विकल्प नभएकोमा जोड दिएका थिए।
एमालेले पूर्व सांसदहरुबाट हस्ताक्षर संकलन गरी संसद पुर्नस्थापनाका लागि मुद्दा अघि बढाउने तयारी पनि गरिरहेको छ । प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालको नेतृत्वमा हस्ताक्षर अभियान संचालन गरिने योजना रहेको छ।
अर्कोतर्फ प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित जागरण अभियान चलाइरहेका एमालेले भित्रभित्रै भने चुनावकै तयारी गरेको बुझाइ कतिपयको छ । यो अभियानलाई पार्टीको लोकप्रियता जाँच्ने, विगतका गल्तीकमजोरीको समीक्षा गरेर अघि बढ्ने रणनीति एमालेले लिएको देखिन्छ ।














