Logo
Logo

पुराना दलबाट आशा राख्नु मूर्खता हो: जनार्दन शर्मा


504
Shares

काठमाडौं । प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्मा पुराना राजनीतिक दलका नेतृत्वहरू झन् झन् असक्षम हुँदै गएको बताएका छन् । शर्माले जनयुद्धको नेतृत्व गरिरहेको तत्कालीन माओवादी र ७ दलबीचको शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भएको प्रसङ्गमा आफ्नो धारणा सार्वजनिक गर्दै पुराना राजनीतिक दलका नेताहरूले सिङ्गो देशलाई द्र्रुगतिले पतनको बाटोमा लगिरहेको आरोप लगाए ।

The current image has no alternative text. The file name is: Janardhan_Sharma.jpg

उनले भनेका छन्, ‘हामीले केवल इतिहास स्मरण गर्ने होइन, त्यसले दिएको सीखलाई वर्तमानमा लागू गर्ने अवसरका रूपमा लिनुपर्छ। यो सम्झौताले राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण, समावेशी, सङ्घीय संविधान, मानवअधिकारको पुनर्स्थापना र दीर्घकालीन राजनीतिक स्थायित्व तर्फको यात्राको आधार तयार गर्‍यो ।

तर १९ वर्षपछि पनि परिवर्तनका धेरै लक्ष्यहरू अधुरा रहेको बताए । उनले भने, ‘भ्रष्टाचार मौलायो, सुशासन झन् झन् टाढा हुँदै गयो, सामाजिक न्याय हुन सकेन, युवाले स्वदेशमा अवसर पाएनन्, देशको समृद्धिले गति लिन सकेन र द्वन्द्वपीडितले न्याय पाएका छैनन् । पुराना राजनीतिक दलका नेतृत्वहरू झन् झन् असक्षम हुँदैछन्, व्यक्तिगत स्वार्थ सिद्धिको निम्ति सिङ्गो देशलाई द्रुतगतिले पतनको बाटोमा लैजानु आजको प्रमुख चुनौती हो ।’

जनताले पटक पटक मौका दिँदा पनि झन् झन् गल्ती गर्ने दलबाट फेरि पनि आशा गर्नु आफ्नै मूर्खता हुने शर्माको भनाइ  छ ।  उनले भने, ‘अब पुराना दल भित्रका परिवर्तन चाहने नेता, कार्यकर्ता, समर्थक र २०८२ को नवयुवा (जेन-जी) विद्रोहका पक्षधरहरूले नयाँ राजनीतिक सङ्कल्प सहित एकताबद्ध हुन आवश्यक छ। समस्या जति गहिरो भए पनि संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियाले नै स्थायी समाधान दिन्छ। यस १९ वर्षले हामीलाई सिकाएको मूल कुरा यही हो ।’

जनयुद्ध र संयुक्त जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र शान्ति प्रक्रिया समेतका बाँकी कार्यभार पूरा गर्ने दृढ सङ्कल्प सहित एकताबद्ध हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्