काठमाडौं । नेकपा एमालेले शुक्रबार ‘नेशनल भोलिन्टियर्स फोर्स’ गठन गरेको छ । तर अध्यक्ष केपी शर्मा ओलीले यो फोर्सको कमान्डरका रूपमा ज्यान मार्ने उद्योगदेखि अपहरणसम्म सातवटा मुद्दा खेपिरहेका पुष्पराज श्रेष्ठलाई चयन गरेका छन् ।

बबरमहलस्थित एक बान्क्वेटमा आयोजित कार्यक्रममा प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, शेरधन राईलगायत शीर्ष नेताहरू मञ्चमा रहँदा ओलीले श्रेष्ठलाई औपचारिक रूपमा नेतृत्व सुम्पिएका थिए । भानुभक्त ढकालले ओलीको उपस्थितिमै सिन्धुलीका श्रेष्ठ नेतृत्वमा ११ सदस्यीय फोर्स घोषणा गरे ।
श्रेष्ठ यसअघि एमालेको युवा दस्ता ‘युथ फोर्स’मा सक्रिय थिए । अब उनी नयाँ फोर्सको कमान्डमा रहेका छन् । तर प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) हेर्दा, उनीविरुद्ध २०६३ देखि २०७५ सम्म चार ज्यान मार्ने उद्योग, दुई सार्वजनिक अपराध र एक अपहरण/शरीर बन्धकसहितका मुद्दा दर्ता भएका देखिन्छन् ।
कार्यक्रममा कमान्डर श्रेष्ठले आफूलाई दिएको जिम्मेवारी “एक रत्ती पनि मर्न नदिने” बताउँदै कठोर शैलीमा भने– “हामी सडकमै होइन, जहाँबाट पनि भिड्न तयार छौँ ।”
उनले सरकारलाई खुलेआम धम्कीसमेत दिए- “यदि तपाईंहरू नसच्चिए, जतिबेला तपाईंहरूले अवरोध गर्नुहुन्छ, विरोध गर्नुहुन्छ, त्यसैबेला हामीले प्रतिकार गर्छौँ ।”
यति मात्र होइन, आफ्ना नेताहरूको घर लोकेसन ट्र्याक भएको भन्दै आफूहरूले पनि सरकार पक्षका व्यक्तिहरूको लोकेसन निगरानी गरिरहेको दाबी गरे– “हामी तपाईंहरूको घर–घर घेरिनेछौँ ।”
यो फोर्स गठनमा अध्यक्ष ओली स्वयंले सक्रिय कमान्ड लिनुभएको नेताहरू बताउँछन् । तयारी बैठकहरूमा प्रत्यक्ष उपस्थित ओलीले “अब जनताको सुरक्षा एमालेले गर्छ” भन्दै स्वयंसेवी फोर्सको औचित्य प्रस्तुत गर्दै आएका छन् ।
बुधबार (मंसिर ३) आयोजित अर्को कार्यक्रममा पनि ओलीले “राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था कायम गर्न नसक्ने” भन्दै फोर्स आवश्यक भएको दाबी गरेका थिए । आजको घोषणा कार्यक्रममा पनि उनले उही कुरा दोहोर्याए–
“यो फोर्स शान्ति–सुव्यवस्था कायम गर्न बनेको हो, आफ्ना पक्ष होस् वा विपक्ष, सबैको ज्यान–धनको रक्षा गर्छ ।”
तर एमालेभित्र भने फोर्सको गठनले नैत्रित्वभन्दा कार्यकर्तासम्म त्रसित बनेको टिप्पणी सुनिन थालेको छ । फोर्सको औपचारिक घोषणा हुनुअघि नै आर्थिक संकलनको उर्दी जारी भएपछि नेताहरूभित्र बेचैनी झनै बढेको उनीहरू बताउँछन् ।














