काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतबाटै गराउनुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित विशाल जनप्रदर्शनको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यो सरकार संविधानले कुनै पनि कोणबाट वैध ठहर्याउन सक्ने अवस्था छैन । यस्तो असंवैधानिक सरकारको अन्तिम परीक्षण सम्मानित सर्वोच्च अदालतबाटै हुनै पर्छ । अदालतमा यो मुद्दा लिएर जाने जिम्मेवारी नेकपा एमालेले लिनेछ ।’
उनले वर्तमान सरकारलाई हिंसा, आगजनी र तोडफोडको बलमा बनेको तथा लोकतान्त्रिक प्रक्रियालाई कुल्चिएर असंवैधानिक ढङ्गले सत्ता कब्जा गरिएको आरोप लगाए । ओलीले नेकपा एमाले देशको स्वाभिमान, शान्ति, सुशासन र लोकतन्त्रको रक्षाका लागि स्थापित पार्टी भएको स्मरण गराउँदै भने, ‘यो देशमा नेकपा एमाले छ भन्ने कुरा सबैले राम्ररी बुझ्नुपर्छ । कसैले जतिसुकै अलोकतान्त्रिक र असंवैधानिक ढङ्गले एक छिन सरकार कब्जा गरे पनि एमालेले जनताको बलमा लोकतन्त्रलाई पुनर्स्थापित गरेर छाड्छ ।’उनले भने, ‘मिचिएको संविधानलाई फेरि नमिचिने बनाएरै छाड्छौँ । अराजकताको यो शासन लामो समय टिक्दैन। नेकपा एमाले जनताको साथ लिएर छिट्टै सुशासन र शान्ति स्थापना गर्नेछ ।’
एमालेले देशलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न र जनतालाई सहज सेवा-सुविधा उपलब्ध गराउन सदैव अग्रणी भूमिका खेल्दै आएको ओलीको दाबी छ ।














