Logo
Logo

कांग्रेस चुनावमा जाने, एमाले एक्लियो


1.9k
Shares

काठमाडौं । जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक वातावरण तातेको छ । शनिवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा निर्वाचनमा सहभागी हुने निर्णय गरेसँगै अब निर्वाचनको विपक्षमा नेकपा एमाले मात्रै देखिएको छ । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य बताउँदै  कांग्रेस चुनावमा जाने र आयोगमा दल दर्ता गर्ने बताएका छन् । 

यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै भृकुटीमण्डपमा आयोजित जनसभामा “प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म सभा र शक्ति प्रदर्शन जारी रहन्छ” भन्दै अडान कायमै राखेका छन् । उनले विघटित संसद् पुनर्स्थापना नै एक मात्र विकल्प रहेको र अन्य दलहरूलाई “असंवैधानिक सरकारको जन्ती नबन्न” आग्रह गरेका छन् ।

कांग्रेसले चुनावमा जाने निर्णय गरेपछि एमाले  संसद् पुनर्स्थापनाको मुद्दामा एक्लिएको छ । निर्वाचन आयोगका अनुसार शुक्रवार सम्म ३७ वटा दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराइसकेका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नेमकिपा, रास्वपा, जनमोर्चालगायत पुराना दलसँगै जेनजी आन्दोलनबाट प्रेरित नयाँ दलहरू पनि दर्ता भएका छन् । कांग्रेसले आइतबार वा सोमबार दल दर्ता गर्ने तयारी गरेको छ । 

यसअघि संसद् पुनर्स्थापनाका लागि कांग्रेसले सांसदहरूको हस्ताक्षर संकलन गरेको थियो । तर कांग्रेसले अन्ततः निर्वाचनलाई नै निकासको बाटो मानेपछि एमाले पूरै एक्लिएको छ । निर्वाचन आयोगले मङ्सिर १० भित्र दल दर्ताको निवेदन लिने र मङ्सिर २० सम्म स्वीकृत गरिसक्ने कार्यतालिका सार्वजनिक गरेको छ । अब सबैको ध्यान फागुन २१ को निर्वाचनमा केन्द्रित भएको छ भने एमालेले पुनर्स्थापनाको आन्दोलनलाई निरन्तरता दिने बाटोमा रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्