Logo
Logo

म्याग्दीमा दुई हजार दुई सय ३७ जना मतदाता थपिए


315
Shares

म्याग्दी । म्याग्दीमा दुई हजार २३७ जना नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गत असोज १० गतेदेखि शुक्रवारसम्म मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाएको थियो । 

The current image has no alternative text. The file name is: maugdi.jpg

उक्त अवधिमा दुई हजार २३७ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमले जानकारी दिए । ‘आठ सय १९ जनाले कार्यालयमा आएर नाम दर्ता गराएका हुन’, उनले भने, ‘राष्ट्रिय परिचयपत्रमार्फत एक हजार ४१८ जना थपिएका छन् ।’ उनका अनुसार ८२ जनाले मतदाता नामावलीमा भएको त्रुटि सच्चाएका छन् भने १९० जनाको ठाउँसारी गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी गौतमले गत असोज ८ गते निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८४ हजार ५२० जना मतदाता थिए । 

नयाँ दर्ता गरेका नामावलीको रुजु गरी दोहोरो परेकाहरूको नाम हटाएपछि कूल मतदाता सङ्ख्या यकिन हुने निर्वाचन कार्यालयले जनाएको छ । नाम दर्ता गराउनेमा युवायुवती र वैदेशिक रोजगारीबाट फर्किएकाहरू बढी रहेका उनले जानकारी दिए। 

मालिका गाउँपालिका-४ का साजन पुनले मतदान गर्न मतदाता परिचयपत्र आवश्यक पर्ने भएकाले नामावली दर्ता गरेको बताए । पहिलो पटक मतदान गर्न लागेका २१ वर्षीय पुनले देशमा विद्यमान समस्या समाधान र युवाहरूको भावनाको सम्बोधन गर्ने उम्मेदवार छनोट गर्ने बताए । निर्वाचनका लागि जिल्लामा ८२ मतदानस्थल सिफारिस गरिएको छ । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् । 

प्रतिक्रिया दिनुहोस्