काठमाडौं । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक सुदन किराँतीले कम्युनिस्ट विचारधारा छाडेको बताएका छन् । आइतबार राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले असमानता र गरिबी अन्त्य गर्न नसक्ने कम्युनिस्टको खोल छाडेर हिँडेको बताएका हुन् ।

उनले भने, ‘तपाईँहरूले कम्युनिष्ट छोड्नुभएछ नि भन्नुभयो मलाई । मलाई धेरै साथीहरूले र्याखर्याख्ती पार्नुभयो । हामीले खोल चाहिँ उतै छोडिदिएको, गुदी बोकेर हिँडेका छौँ । जहिले पनि खोल बोकिराख्नुपर्ने, सबै खालको असमानताको अन्त्य गर्छु भन्ने सबै खालको असमानता र अन्याय गरिराख्ने, अब संसारमा त्यस्तो कम्युनिष्ट पार्टी कहीँ पनि चल्दैन ।’
किरातीले नयाँ पार्टीले असमानता, विभेद र सबैखाले शोषणलाई अन्त्य गर्ने बताए । ‘हामीले राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउन चाहन्छौँ । तपाईँहरूले भनेको पनि त्यही होला । तर भएन । त्यसैले तपाईँहरूको खोल तपाईँहरू नै राख्नुस् । हामीलाई त्यो खोल चाहिएन । हामी गुदी बोकेर हिँड्नेछौँ । नेपाली जनता र नेपाल राष्ट्रलाई हामी स्वाधीन बनाउने छौँ । हामी गरिबीको अन्त्य गर्नेछौँ । हाम्रो अबको लडाइँ नै गरिबी, असमानता र विभेदको विरुद्धमा हुनेछ ।’
उनले देश र जनताको समस्यालाई समाधान गर्ने सोच र शक्ति निर्माण गर्न आफूहरू लागेको बताएका । उनले बोलीलाई व्यवहारमा र अनुहारलाई आचरणमा परिवर्तन गर्न चाहेको बताउँदै भने, ‘सबै खाले भ्रष्टाचार हाम्रा निम्ति सबैभन्दा ठूलो शत्रु हुनेछ । भ्रष्टाचारले यो देशलाई गरिब बनायो ।’














