काठमाडौं । नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले एक व्यक्ति एउटा मात्रै कार्यकारी पदमा रहन सक्ने व्यवस्था गरेको छ । आइतबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी घोषणा कार्यक्रममा घोषणा पत्र पढेर सुनाउँदै नेता जनार्दन शर्माले पार्टीभित्र एक व्यक्ति एउटा मात्रै कार्यकारी पदमा रहन सक्ने व्यवस्था गरिएको बताएका हुन् ।

त्यस्तै कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल सम्म मात्रै रहन पाउने व्यवस्था गरिएको छ । शर्माले ‘असफल’ दलहरूले गरेको खराब प्रयोगबाट शिक्षा लिँदै सङ्गठनमा लोकतन्त्रको अभ्यास गरिने बताए ।
‘पार्टीका सबै कमिटी स्वायत्त हुनेछन् । आफ्नो नेता तथा प्रतिनिधि छान्ने उम्मेदवार छनोट गर्ने आदी सबै जिम्मेवारी सम्बन्धित कमिटीलाई नै दिइन्छ । कमिटीमा जनसङ्ख्या र भूगोलका आधारमा प्रतिनिधित्व र सहभागी गराइन्छ’, उनले भने ।
पार्टीभित्र विधिप्रधान सामूहिक निर्णय, सामूहिक समानुपातिक निर्णय पद्धति र व्यक्तिगत जबाफदेही अनिवार्य हुने शर्माले बताएका छन् । घोषणा पत्र वाचन गर्दै शर्माले भने, ‘पार्टीका सबै सदस्यहरू अध्ययनशील हुनुपर्छ । तामझाम र रवाफिलो जीवनशैलीको खिलाफमा उभिनुपर्छ। प्रविधिको प्रयोगमा अब्बल र नागरिकको साथी बन्नुपर्छ । हरेक सदस्य इतिहासबारे जानकार, वर्तमानबारे जिम्मेवार र भावी पुस्ताप्रति उत्तरदायी बन्नुपर्छ ।’














