Logo
Logo

भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु


315
Shares

भियतनाम । भियतनाममा निरन्तर परेको भारी वर्षा, बाढी तथा भूस्खलनका कारण गत एक हप्तामा कम्तीमा ९० जनाले ज्यान गुमाएको अधिकारीहरूले आइतबार बताएका छन् । 

धेरै नागरिक अझै छत र पहाडी सडकहरूमा फसिरहेका छन् । अक्टोबरको अन्त्यदेखि दक्षिण-मध्य भियतनाम निरन्तर वर्षाको ठूलो प्रभावमा पर्दा लोकप्रिय पर्यटकीय सीमानाका सहरहरूमा बारम्बार बाढी ल्याई करोडौँ डलर बराबरको आर्थिक क्षति पुर्‍याएको छ ।

तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र डुबानमा परे भने प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा घातक भूस्खलन भएको छ । डाक लाक प्रान्तका ६१ वर्षीय किसान माच भान सीले बाढीका कारण आफू र आफ्नी श्रीमती दुई रातसम्म छतमा फस्नुपरेको बताए । ‘हाम्रो गाउँ–छिमेक लगभग पूर्ण रूपमा नष्ट भयो, केही पनि बाँकी रहेन । सबै चिहानसम्म ढाकिए’, उनले एएफपीसँग भने । छतमा चढ्न सफल भएपछि पनि आफूहरू ‘निश्चिन्त नभएको’ उनको भनाइ छ । ‘मलाई लाग्यो, अब त मुक्ति छैन’, सीले सम्झिए ।

नोभेम्बर १६ पछि दर्ता भएका मृतकमध्ये ६० भन्दा धेरै डाक लाक प्रान्तमै रहेका छन् । त्यहाँ दशौँ हजार घर डुबानमा परेको वातावरण मन्त्रालयले बताएको छ । तुय हो बजार क्षेत्रको पानी केही घटे पनि ४० वर्षीया विक्रेती भो हु डुले आफूले बेच्ने अधिकांश सामान भिजेको वा माटोले छोपिएको बताए । ‘मेरो सबै सामान भिजेको ठूलो थुप्रोझैँ छ’, उनले दुःख व्यक्त गर्दै भने, “कहाँबाट सफा सुरु गर्ने, केही थाहा छैन ।’ वर्षौंदेखि बाढीबाट जोगिन विक्रेताहरूले पाँच सेन्टिमिटर जति उच्च स्थान सुरक्षित मान्दथे, तर यसपटक पानी एक मिटरभन्दा माथि पुगेपछि त्यो उपाय पनि निष्प्रभावी भयो ।

६० वर्षीय सिरेमिक विक्रेता गुयेन भ्यान थोईले बजारका स्टलबीचको बाटोभरि क्षतिग्रस्त वस्तुहरू हटाउनै नसकिने अवस्था रहेको बताए । ‘पूरै बजारको स्टक राख्ने ठाउँ नै छैन’, उनले भने, ‘पूरै सफा गर्न महिनौँ लाग्नेछ ।’ गत हप्तामै डाक लाकसहित पाँच प्रान्तमा ८० हजार हेक्टरभन्दा बढी चामल तथा अन्य बाली नष्ट भए भने करिब ३२ लाख गाई-वस्तु तथा कुखुरा मरे वा बगाइए ।

सरकारले बाढी पीडित समुदायहरूमा राहत पुर्‍याउन हेलिकप्टर परिचालन गरेको छ । दशौँ हजार कर्मचारीलाई कपडा, पानी शुद्धीकरण ट्याब्लेट, तयारी चाउचाउ र अन्य आवश्यक सामग्री वितरणका लागि खटाइएको राज्य सञ्चालित टुओई ट्रे न्युजले जनाएको छ । राष्ट्रिय राजमार्गका धेरै खण्ड अझै अवरुद्ध छन् भने कतिपय रेलवे सेवाहरू निलम्बित अवस्थामा छन् ।

वातावरण मन्त्रालयले बाढीका कारण पाँच प्रान्तमा करिब ३४ करोड ३० लाख डलर बराबरको आर्थिक क्षति भएको अनुमान गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यस वर्ष जनवरीदेखि अक्टोबरसम्मको अवधिमा मात्र प्राकृतिक प्रकोपले २७९ जनाको ज्यान लिएको वा बेपत्ता पारेको छ र क्षति दुई अर्ब डलरभन्दा माथि पुगेको छ । दक्षिणपूर्वी एसियाली मुलुकमा सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा हुने गर्छ तर वैज्ञानिकहरू मानव–सृजित जलवायु परिवर्तनका कारण चरम मौसमजन्य घटना झन् बारम्बार र विनाशकारी बन्दै गएको चेतावनी दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्