काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सर्वोच्च अदालतको आदेशसँगै आइतबार थुनामुक्त भएका छन् । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको हो ।

रिहा हुने क्रममा अदालत परिसरमै सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रसाईँले ‘यो देशमा न्याय अझै मरेको छैन भन्ने पुष्टि भएको’ बताए । उनले आफ्नो नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ले घोषणा गरेको आन्दोलन र अनिश्चितकालीन आम हड्ताल स्थगित नभएको, तर ढाँचा परिवर्तन गरिएको स्पष्ट पारे । ‘आन्दोलन स्थगित भएको होइन, मोडल मात्र चेन्ज गरेका हौँ,’ उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीको विशेष आग्रहमा हिंसारहित ढाँचामा लैजाने सहमति भएको छ ।’
शनिवार राति प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा सरकारले प्रसाईँ समूहका मागहरू सम्बोधन गर्न छलफल गर्ने प्रतिबद्धता जनाएको उनले बताए । ‘जीविकोपार्जन, गरिबलाई धनी बनाउने मागहरू पूरा गर्न सकिने काम सरकारले गर्छ भन्नुभयो,’ प्रसाईँले भने, ‘देशमा आगो लगाउने मन हाम्रो पनि छैन, त्यही भएर वार्तामा बस्ने सहमति भयो ।’
गत सोमबार मध्यराति भक्तपुरको निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति भंगको अभियोगमा ९ दिन हिरासतमा राखेको थियो। अदालतले उनलाई छोरा निराजनको जिम्मा लगाउँदै रिहा गरेको हो ।














