काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन दुई कारणले केही समय पछि सर्न सक्ने बताएका छन् ।

इलाममा भदौ २४ गते प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेको पार्टी कार्यालय अवलोकनपछि नेता-कार्यकर्तालाई सम्बोधन गर्दै शर्माले भने, ‘समावेशी समानुपातिक सूची बुझाउने मिति वा फागुन २१ को उपनिर्वाचन पनि थोरै पछाडि सर्न सक्छ । शान्तिपूर्ण वातावरण अझै बनेको छैन र हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुने अवस्था छ । यी दुई कारणले राजनीतिक सहमतिमार्फत मिति केही पछि सार्नु उचित हुन्छ ।’
यसै क्रममा उनले नेपाली कांग्रेसको आसन्न महाधिवेशन र विशेष महाधिवेशनको विषयमा पनि दुई विकल्प प्रस्तुत गरे।
पहिलो विकल्प-‘पुसको अन्तिम साता नियमित महाधिवेशन गर्ने गरी अबको केन्द्रीय कार्यसमिति बैठकबाट कार्यतालिका बनाऔँ । तयारीमा केही दिन अपुग भए थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गरौँ ।’
दोस्रो विकल्प-‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरिरहनुभएको छ । यो मागलाई बेवास्ता गरेर पार्टी अघि बढ्न सक्दैन । आदरणीय सभापति ज्यूले देशको परिस्थिति, पार्टीको अवस्था र समयको माग बुझेर २०१४ सालमा सुवर्ण शमशेरले जस्तै स्वयं मार्ग प्रशस्त गर्नुभयो भने एकातिर पार्टीले निकास पाउँछ, अर्कोतिर उहाँको सम्मान र अभिभावकत्वको भूमिका झन् उचाइमा पुग्छ। त्यसो भए २०८२ मङ्सिर मसान्तभित्र विशेष महाधिवेशन र २०८३ मङ्सिरमा नियमित महाधिवेशन गर्न सकिनेछ ।’
महामन्त्री शर्माले दुवै विकल्पमा सबै नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्।














