काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेको बताएका छन् । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन प्रचार समितिको भेलालाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको नीति तथा कार्यक्रम विधान महाधिवेशनले गरेकाले मङ्सिर २७ गतेबाट हुने राष्ट्रिय महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने बताए ।

‘महाधिवेशन प्रतिनिधि चयनदेखि नेतृत्व निर्माणसम्मका सबै प्रक्रिया लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित रहेर हुने छन’, उनले भने । उनले पार्टीको ११औँ महाधिवेशनले प्रतिगमनको विरुद्ध निर्णायक भूमिका खेल्ने बताए। ‘यो महाधिवेशन प्रतिगमन विरुद्धको निर्णायक राजनीतिक प्रक्रिया हुनेछ’, उनले भने ।
महासचिव पोखरेलले महाधिवेशनको उद्घाटन समारोहमा हुने जनप्रदर्शन अहिलेसम्मकै सबैभन्दा ठूलो ऐतिहासिक प्रदर्शन हुने दाबी गरे । त्यसका लागि तलसम्म लाग्न पोखरेलले आग्रह गरे ।
उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनले राष्ट्रियता, सामाजिक विकास र पुनःनिर्माण जस्ता मूल राजनीतिक सवाललाई एजेण्डामा केन्द्रित गर्ने दाबी गरे ।
उनले युवा पुस्ता, विशेषतः जेन–जी मैत्री संरचना निर्माणमा महाधिवेशनमा जोड दिइने र महिलाको सहभागिता तथा नेतृत्व भूमिकामा उल्लेख्य वृद्धि हुने बताए । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमा बागमती प्रदेशलाई विशेष प्राथमिकता दिइएको बताए । प्रदेश सङ्गठनलाई सुदृढ बनाउने र राजनीतिक अभियान प्रभावकारी बनाउने उद्देश्यसहित बागमतीलाई केन्द्रबिन्दु बनाइएको उनले बताए ।














