Logo
Logo

एमाले सिध्याएरै विश्राम लिने बाटोमा ओली


16.6k
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको हठ, दम्भ र अहंकारका कारण एमाले पार्टी बिस्तारै समाप्तिको दिशातर्फ उन्मुख भएको छ । आफ्नोभन्दा फरक विचार सुन्न नचाहने, विरोधीलाई देख्न नसक्ने, ‘पार्टी छाडेर गइहाल’ भन्ने प्रवृत्ति बढ्दै जाँदा ओलीको कारण पार्टी समाप्तिको बाटोमा पुगेको हो ।

ओलीको कारण समकक्षीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत सयौँ नेता कार्यकर्ताहरू एमालेबाहिर रहेका छन् । एमाले छाडेर गएका नेपाल, खनाल, गौतमलगायत पुराना नेताहरूले वामपन्थीहरूलाई एकीकृत गर्न लागेका बेला ओली भने आफैसँग रहेका ईश्वर पोखरेललाई पनि पार्टीबाहिर निकाल्न खोज्दै छन् ।

जेलजीवन भोग्नुबाहेक एमाले निर्माणमा ओलीको कुनै योगदान छैन । उनी एमालेलाई सिध्याएरै विश्राम लिने मिसनमा छन् । त्यसैले ओलीले को–अर्डिनेशन केन्द्रबाट एमाले बनाउने मध्येका एक ईश्वर पोखरेलसहित अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेहरूलाई पनि पाखा लगाउन खोजिरहेका छन् । दुःख गरेर बनाएको पार्टी अहिले जटिल अवस्थामा पुगेकाले ओलीलाई विस्थापित गर्न चुनावी प्रतिस्पर्धामा उत्रिनुपर्ने अवस्था आएको पोखरेल पक्षको दाबी छ ।

गत भदौ २घ र २४ गतेको नरसंहार र विध्वंसको जिम्मा लिँदै राजनीतिबाट विश्राम लिनुपर्ने ओली विधान संशोधन गरेर पुनः अध्यक्ष बन्न खोज्दै छन् । एमालेको ११औँ महाधिवेशन यही मंसिरको अन्तिममा काठमाडौँमा हुँदै छ । कम्युनिस्ट आन्दोलनभित्रका गलत प्रवृत्तिको खबरदारी गर्न एमालेभित्र रहेर सम्भव नभएकै कारण ओलीनिकट नेताहरू पनि निराश छन् । ओलीको हप्कीदप्की खेपेर बसेका पुराना, पाका, इमानदार नेताहरूलाई निरुत्साहित गर्ने प्रवृत्ति ओलीकै कारण बढिरहेको छ ।

अहिले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि बहुमत पदाधिकारीहरू ओलीको विपक्षमा रहेका छन् । महाधिवेशनबाट ओलीलाई बिदा गर्ने रणनीतिमा पोखरेल पक्षका नेताहरू लागेका छन् । यो रणनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि साथ दिएकी छिन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलसहित उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठलगायतका केन्द्रदेखि जिल्लासम्मकै नेता तथा कार्यकर्ता विपक्षमा भएपनि ओलीले हठ र दम्भ छाडेका छैनन् ।

एमालेमा कुनै कुराको सुनुवाइ हुँदैन । त्यहाँ रहनेहरू आफ्ना सारा पीडा लुकाएर बसेका छन् । एक प्रकारले भन्ने हो भने आत्मसमर्पण गर्दै बसेका छन् । यसले गर्दा ओलीका कारण कम्युनिस्ट आन्दोलन नै समाप्तिको दिशामा जाने अवस्था आइसकेको भन्दै नेता कार्यकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।

ओली समूहकै पुराना नेता कार्यकर्ताहरूमा विग्रह आएको छ । टुटफूट भएर ओलीलाई समर्थन गर्न नसक्ने अवस्थामा पुगेकाले सिंगो एमाले समाप्तिको दिशामा उन्मुख भएको छ । उनले पछिल्लो पटक आफ्नै गुट व्यवस्थापन गर्न सकेनन् । सीमित घेरामा रहेका ओलीले अरूका कुरा सुन्दैनन् ।

‘ओलीले आश्वासन दिन्छन्, व्यवस्थापन गर्दैनन्, विगतमा वामदेवलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउँछु भने, अध्यक्ष जितेपछि फ्याकिदिए’, ओलीनिकट रहेका एक नेताले भने यसपटकको आश्वासन काम लाग्दैन ।’ ओलीले दिने आश्वासनको पछि लाग्दा आफ्नो राजनीतिक भविष्य समाप्त हुने अवस्था आएको भन्दै ओली गुटमा लागेकाहरूले आफ्नो भविष्य खोजिरहेका छन् । ‘ओलीको अहंकारलाई बोकेर हिड्न सकिँदैन’, ओली समूहका एक पूर्वसदस्यले दृष्टिसँग भने ।

उनका अनुसार ओलीले आउँदो महाधिवेशनमा कसलाई निकट राख्ने र कसलाई पाखा लगाउने भन्ने लामो सूची नै तयार गरिसकेका छन् । ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, कर्ण थापा, गोकुल बाँस्कोटा, अग्नी खरेल, विनोद ढकाल लगायतलाई आउनै नदिनेगरी सूची तयार पारेको एमाले स्रोतले बताएको छ । युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यलाई गन्तीमा राखेका छैनन् ।

विद्या भण्डारी समूहका अन्य धेरै नेताहरूलाई समेत कालोसूचीमा राखेका छन् । जसले गर्दा एमालेभित्र ठूलो भूकम्प जाने निश्चित छ । विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ओली समूहले केही सोचेको छैन । माओवादीबाट एमालेमा बसेकाहरूको पनि बिल्लीबाँठ हुन लागेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका रामबहादुर थापा बादल ओलीलाई समर्थन गर्न बाध्य छन् तर उनको स्थान कसरी सुरक्षित हुन्छ भन्ने यकिन छैन । भीम रावललाई धपाएर एमालेमा बसेका लेखराज भट्टको स्थान पनि सुरक्षित छैन ।

एमालेमा तलका कार्यकर्तालाई मात्रै नियम र अनुशासन लागू हुने, माथिका नेताले जे गरे पनि हुने प्रवृत्ति छ । ओलीलाई गाली गरेको भन्दै पार्टी कार्यकर्ताहरू कारबाही पर्न थालेका छन् । पार्टी शीर्ष तहमा रहेका नेताले गुटको शासन चलाएपछि विद्रोह स्वाभाविक जस्तै बनेको छ । एमालेभित्र ओलीले खडा गरेको दुष्चक्रलाई चिर्ने कुनै उपाय नै छैन । आगामी महाधिवेशनपछि पुनः एमाले विभाजनतर्फ लाग्दै छ । ओलीले एमाले समाप्त नपारेसम्म पद नछाड्ने भएकाले ईश्वर पोखरेलहरू नेतृत्वमा प्रतिस्पर्धा गर्न अघि सरेका हुन् ।

ओली–पोखरेल प्यानल बन्दै
अध्यक्ष पदमा ओलीसँग भिड्नकै लागि पोखरेलले आफ्नो सचिवालय तयार पारिसकेका छन् । उनले आजभोलि नै सचिवालयबाट काम सुरु गर्नेछन् । सुनधारामा एउटा घरमा हलसहितको सचिवालय तयार भैसकेको छ ।

त्यहाँ पोखरेलको प्रचार टिम र प्रतिनिधि व्यवस्थापनको टिम बस्नेछ । यसको सुइँको ओलीले पाइसकेका छन् । कार्यालय खोलेको सुइँको पाएपछि ओलीले पोखरेललाई बोलाएर कुराकानी गरेका थिए । तर, पोखरेलले आफूसँग कुनै विकल्प नभएको भन्दै पछि नहट्ने बताएपछि ओली अमिलो मन बनाएर गुण्डुमा बसिरहेका छन् ।

ओली–पोखरेल दुवैले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्ने आन्तरिक तयारी गरेका छन् । पोखरेलको प्यानलमा अहिलेका पदाधिकारीमध्ये तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,सुरेन्द्र पाण्डे तथा सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टको बलियो साथ रहेको छ । उपाध्यक्ष विष्णु पौडेल तथा उपमहासचिव पृथ्वी सुव्वा गुरुङ भने अहिलेसम्म खुलेका छैनन् ।

पौडेल र गुरुङ पोखरेलको समूहमा आउने पोखरेल निकट नेताहरू बताएपनि निश्चित भैसकेको छैन । यद्यपि पौडेलले विगतमा पनि ओलीलाई नै साथ दिँदै आएकाले उनी यूटर्न हुने सम्भावना अत्यन्त कम भएपनि शंकर पोखरेलको वरियता हेरेर उनको मुड परिवर्तन हुने सम्भावना रहेको छ ।

शंकर पोखरेललाई अध्यक्ष ओलीले च्यापेको खण्डमा पौडेल पोखरेल समूहमा आउने बताइन्छ । महाधिवेशनमा पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पक्षधरको पूर्ण साथ रहने छ । ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा बादल र गुरु बराल प्रस्ट खुलेका छन् ।

महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि ओलीको पक्षमा खुलेका छन् । ओलीको पक्षमा सचिवहरू लेखराज भट्ट, पद्मा अर्याल, रघुवीर महासेठ रहे पनि सचिव छविलाल विश्वकर्मा भने अहिलेसम्म तटस्थजस्तै देखिएकाले महासेठ पोखरेल समूहमा आउने बताइन्छ । विश्वकर्मा र अर्याल भने पौडेल जता लाग्यो उतै जाने सम्भावना रहेको छ ।

एमालेको परिवर्तित विधान अनुसार अब बन्ने एमाले केन्द्रीय पदाधिकारी सङ्ख्या १५ मात्र हुनेछ । यसअघि १९ सदस्यीय पदाधिकारी रहेको एमालेमा गत विधान महाधिवेशनले गरेको विधानको व्यवस्था अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना निर्वाचित हुनेछन् । यस्तोमा अध्यक्ष ओलीले आफ्नो प्यानलबाट पदाधिकारीमा नयाँ अनुहारलाई समेट्ने प्रयास गर्दै छन् ।

त्यमध्ये महेश बस्नेत, भानुभक्त ढकाल, सूर्य थापा र रामकुमारी झाँक्रीलाई सचिव बनाउने ओलीको तयारी छ । पोखरेल पक्षले भने कर्णबहादुर थापा, गोकुल बास्कोटालगायतलाई पदाधिकारीमा उठाउने बताइएको छ । पोखरेल पक्षका नेताहरू भने ओली हराउने कष्टमा पदाधिकारीमा लडाइ नगर्ने पक्षमा रहेका छन् । ‘जसरी पनि ओलीको दम्भ तोड्नुपर्नेछ’, एक नेताले भने ‘हामीलाई पदाधिकारी चाहिँदैन ।’

चुनावको तयारी शून्य
सर्वाधिक संगठन भएको र वडा तहसम्म कार्यकर्ता परिचालन गर्न सक्ने पार्टीको रूपमा रहेको एमालेलाई ओलीले नै भड्खालोमा हाल्ने निश्चित छ । लोकतान्त्रिक पार्टीलाई चुनावमा जान नदिने, नयाँ पुस्ताको आन्दोलनलाई अस्वीकार गर्ने, विद्रोहलाई आतंकसँग जोड्ने र संसद् पुनस्थापनाका लागि न्यायालयलाई अनौपचारिक दबाब दिने प्रवृत्तिले पार्टीलाई भड्खालो पु¥याउन लागिएको छ । सबै दलहरू निर्वाचनको तयारीमा लागिसकेका छन् ।

काँग्रेसले समेत चुनावमा जाने निर्णय गरिसकेको छ । त्यसका लागि निर्वाचन आयोगमा दल दर्ता समेत गराइसकेको छ । एमाले भने ओलीको बन्धकमा परेर निर्णय गर्न सकिरहेको छैन । एमालेभित्रका अधिकांश नेताहरू निर्वाचनको पक्षमा रहेका छन् । निर्वाचनको पक्षमा रहेका नेताहरूले दल दर्ताका लागि दबाब दिइरहेपनि ओलीले सुनेका छैनन् । निर्वाचन विभागलाई सक्रिय बनाउने र दल दर्ताका लागि आवश्यक तयारी गर्न निर्देशन समेत दिएका छैनन् ।

निर्वाचन आयोगले निर्वाचन लक्षित गतिविधि बढाइरहेको छ । निर्वाचनकै लागि दल दर्ताको क्रम जारी छ भने राजनीतिक दलले पनि अब निर्वाचन हुनुपर्ने भन्दै चुनावमा सहभागी हुने प्रतिवद्धतासहित दलगत काम अघि बढाएका छन् । आगामी फागुन २१ को निर्वाचनबारे निर्णय नगरेको दल नेपाली काँग्रेसले पनि शनिबार केन्द्रीय समिति बैठकबाट निर्वाचनमा भाग लिने निर्णय ग¥यो तर एमालेले त्यो निर्णयलाई सुन्यो मात्रै प्रतिनिधि सभा पुनस्थापनाको रटान लगाइरह्यो ।

अहिलेको अवस्थामा एमालेमात्र निर्वाचनको विपक्षमा देखिएको छ । एमालेले संसद् पुनस्थापनाको एजेन्डालाई नै मुख्य बनाएको छ । एमालेले शनिबार काठमाडौंमा आयोजना गरेको प्रदर्शनका क्रममा पनि एमाले अध्यक्ष ओलीले निर्वाचन नभई संसद् पुनस्थापनाको एजेन्डालाई नै अघि सारेर पार्टीलाई थप अधोगतितर्फ धकेल्न उद्यत देखिए ।

प्रतिक्रिया दिनुहोस्