Logo
Logo

महिला हिंसाको कुरा मात्र गर्ने होइन, सशक्तीकरणमा ध्यान दिऔँ : उपसभामुख


441
Shares

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले बाल्यकालदेखि नै महिला र पुरुषबीच समानता र सम्मान गर्न सिकाउनुपर्ने बताएकी छन् ।

The current image has no alternative text. The file name is: indirarana-magar.jpg

राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ कार्यक्रममा उनले लैङ्गिक हिंसा बढिरहेको बताउँदै सानैदेखि महिला पुरुषबीच एकअर्कालाई सम्मान गर्न सिकाए लैङ्गिक हिंसामा कमी आउने बताइन् ।

उपसभामुख राना मगरले पछिल्लो समय महिला तथा किशोरीमा साइबर आक्रमण अत्यधिक देखिएको भन्दै यसविरुद्ध सचेतना र उनले हिंसा रोक्न पुरुषको पनि साथ हुनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, “१६ दिने अभियानमा महिलाको गीत मात्र गाउने र हिंसाको कुरा मात्र गर्ने होइन, महिलालाई कसरी सशक्त बनाउने भनेर सोच्नुपर्छ । अभियान मनाउने मात्र होइन, सधैँ सबै महिलाहरु एक भएर जाग्नुपर्छ । महिलामैत्री संरचनाको विकास, महिला सशक्तीकरणका कार्यक्रम, नेतृत्व तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने आवश्यकता छ ।”

नेपाल प्रहरीअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रतिनिधि प्रहरी उपरीक्षक एसपी वसन्धुरा खड्काले लैङ्गिक हिंसा अन्त्य गर्न साहस, ऐक्यबद्धता र सामूहिक प्रयासको खाँचो औँल्याइन्।

उनले भनिन्, “लैङ्गिक हिंसा बढ्दो छ, तर यसलाई रोक्न प्रहरी मात्र काफी छैन, सबैको सामूहिक प्रयास जरुरी छ । सामाजिक सञ्जालमार्फत हिंसा बढी देखिने गरेको छ । यस विषयमा नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ ।” एसपी खड्काका अनुसार २०८१र८२ मा नेपाल प्रहरीमा लैङ्गिक हिंसासम्बन्धी १८ हजार ९२६ वटा उजुरी आएका छन् ।

कार्यक्रममा मनोचिकित्सक डा वासुदेव कार्कीले डिजिटल प्रविधिलाई स्वस्थ्यकर तथा विवेकपूर्ण ढङ्गले चलाउन सके त्यसबाट हुने हिंसा तथा त्यसले उत्पन्न गराउने मानसिक असरबाट बच्न सकिने बताइन् ।

साइबरविज्ञ अभिजित गुप्ताले अनलाइनमा के ‘सेयर’ गर्ने र नगर्ने बुझेर मात्र प्रयोग गर्नुपर्ने बताउँदै प्रविधिको सही प्रयोग गर्न सके हिंसाबाट बच्न सकिने बताइन् । जेनजी मुभमेन्ट अलायन्सकी अभियन्ता मोनिका निरौलाले प्रविधिको फाइदा र बेफाइदा दुवै भएकाले महिलाले मात्र नभइ फरक पहिचान बोकेका समुदायले भोगेको हिंसाको पनि सम्बोधन हुुनुपर्ने बताइन्।

‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । यो अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १०० सम्म सञ्चालन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्