काठमाडौं । सैनिक मुख्यालय जङ्गी अड्डाले उच्चस्तरीय जाँचबुझ आयोगलाई जेनजी आन्दोलनका घटना विवरणहरू पठाएको छ । २३ र २४ भदौको घटना छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सैनिक मुख्यालयलाई पत्र काट्दै विवरणहरू माग गरेपछि सैनिक मुख्यालयले केही विवरणहरू पठाएको हो ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले त्यसबेलाका घटना विवरणहरू आयोगलाई पठाइएको जानकारी गराएका हुन् । पठाइएको विवरण के-के हो त्यो विषयमा सैनिक मुख्यालयले केही खुलाइएको छैन । जङ्गी अड्डाले २३ र २४ भदौमा के कस्ता घटनाहरू भए, कसरी भए भन्ने विवरणसहितको जवाफ आयोगलाई पठाएको बताइएको छ ।
यता जाँचबुझ आयोगले भने माग गरेअनुसारको विवरण नआएको बताएको छ । आयोगले जेनजी आन्दोलनका क्रममा खटिएका सैनिक कमाण्डरहरूसहितको विवरण माग गरेको थियो ।
२३ भदौको दिउँसो १२:३० बजे कफ्र्यू घोषणा भएपछि नेपाली सेना परिचालन भएको थियो । भदौ २५ गतेदेखि २८ गते बिहानसम्म देशभर सेना तैनाथ थियो । यो समयमा काठमाडौं उपत्यकामात्रै ६ हजार र उपत्यका बाहिर देशभर गरेर १८ हजार सेना परिचालन भएका थिए ।
सिंहदरबार लगायत महत्त्वपूर्ण संरचनाहरू जल्नुमा सेनाले भूमिकालाई लिएर प्रश्न उठ्दै आएको छ । त्यतिबेला भएका प्रदर्शन, तोडफोड र आगजनी भएको अवस्थामा अराजकतालाई कम गर्न र नियन्त्रण गर्न न्युनतम शक्ति प्रयोग गर्दा पनि अराजक भिड पछाडि नहट्दा यो अवस्था भएको सेनाको बुझाइ छ ।
सिंहदरबार जोगाउन त्यतिबेला अत्यन्तै संयमता अपनाएको सेनाले प्रष्टीकरण यसअघि नै दिएको छ । सेनाले त्यतिबेला सिंहदरबार जोगाउनका लागि ४६ राउन्ड हवाई फायर गरेको जनाएको छ ।














