काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविमा नक्कली पीएचडी प्रस्तुत गरी सह-परीक्षा नियन्त्रक पदमा नियुक्ति पाएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दा दायर गरिएका मध्ये तीनजना छनौट समितिका सदस्य संयोजक डा. जया लक्ष्मी प्रधान, सदस्य डा. मोतिलाल शर्मा र डा. मेधराज पोखरेल र एकजना सहप्राध्यापक डिल्लीराम प्रसाईं छन्, जसले पीएचडी उपाधि नपाई ‘डा.’ उपाधि प्रयोग गरी आवेदन दिएका थिए ।
प्रसाईंले विद्यावारिधिको मौखिक परीक्षा मात्रै सकेका थिए तर उपाधि नपाउँदै पीएचडी गरेको भनी कागजात पेश गरेका थिए। विद्यावारिधि गरेकालाई ८ अतिरिक्त अंक दिइने व्यवस्थामा उनी लाभान्वित भएको आरोप छ । उनका शोधपत्रहरू अन्तिम रूपमा स्वीकृत नभएको डीन कुशुम शाक्य नेतृत्वको समितिले यसअघि नै पुष्टि गरिसकेको थियो । उनी २९ माघमा मात्र विद्यावारिधि उपाधि प्राप्त भएको खुलेको छ ।
अख्तियारले प्रसाईंमाथि झुटो विवरण पेश गरेको र समितिका तीन प्राध्यापकमाथि त्यसलाई स्वीकार गरी नियुक्ति प्रक्रिया प्रभावित पारेको आरोपमा मुद्दा दायर गरेको हो ।














