एजेन्सी । दक्षिणी थाइल्यान्डमा आएको भीषण बाढीका कारण बुधबारसम्म ३३ जनाको मृत्यु भएको छ भने हजारौँ मानिस विस्थापित भएका छन् । लगातार परेको भारी वर्षाले दक्षिणी प्रान्तहरूमा जनजीवन अस्तव्यस्त भएको अधिकारीहरूले जनाएका छन् ।

थाई सरकारले सोङ्खला प्रान्तमा आपतकालीन अवस्था घोषणा गरेको छ । प्रमुख पर्यटन क्षेत्र हट याईसहित सात प्रान्तमा घर र सडकहरू पानीमुनि डुबेका छन्। करिब १० लाख मानिस प्रभावित भएका छन् । उद्धार टोलीहरूले डुङ्गा, जेट–स्की, सैन्य ट्रक, हेलिकप्टर र विमानमार्फत स्थानीयलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी राखेका छन् । विश्वविद्यालय क्याम्पसहरू अस्थायी आश्रयस्थलका रूपमा प्रयोग भइरहेका छन् र दैनिक २० हजारसम्मका लागि खाद्य प्याक उपलब्ध गराइँदैछ।
छिमेकी मलेसियामा पनि आठ राज्यमा बाढी फैलिएको छ । यसै हप्ता २७ हजारभन्दा बढी मानिस अस्थायी आश्रयस्थलमा सारिएका छन् । उत्तरपूर्वी तटको केलान्टन राज्यमा एक जनाको मृत्यु पुष्टि भएको छ । मलेसियाको मौसम विभागले उत्तरी राज्यहरू पर्लिस, केदाह, पेनाङ र पेराकमा अझै आँधीबेहरी जारी रहने चेतावनी दिएको छ।
सीमापार प्रभाव पनि देखिएको छ। दक्षिणी थाइल्यान्डमा फसेका हजारौँ मलेसियाली पर्यटकलाई सुरक्षित रूपमा स्वदेश फर्काइएको छ।
वैज्ञानिकहरूले मानव–सिर्जित जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाहरू थप तीव्र र अप्रत्याशित हुने चेतावनी दिएका छन् ।











