एजेन्सी । इटालीको संसद्ले ‘फेमिसाइड’ नारीहत्यालाई जघन्य अपराधको सूचीमा राख्ने विधेयक पारित गरेको छ । बीबीसीका अनुसार, यस विधेयकले महिला हत्यामा संलग्नलाई आजीवन कारावाससम्मको कठोर सजायको प्रावधान गरेको छ ।

यो विधेयक नोभेम्बर २५ का दिन पारित भएको हो, जुन महिलाविरुद्ध हिंसा अन्त्यका लागि मनाइने अन्तर्राष्ट्रिय दिवस पनि हो । दिवसकै दिन पारित भएको विधेयकलाई प्रतीकात्मक र सशक्त कदमको रूपमा हेरिएको छ।
इटालीमा नारीहत्याविरुद्ध कडा कानुनी व्यवस्था बनाउनुपर्ने माग लामै समयदेखि उठ्दै आएको थियो। तर सन् २०२३ नोभेम्बरमा २२ वर्षीया जुलियाको पूर्वप्रेमी फिलिपो टुरेटाले छुरा प्रहार गरी हत्या गरी शव तालछेउ फ्याँकेपछि विषय अत्यन्त गम्भीर रूपमा उठ्यो । तीव्र जनदबाबका बीच सरकारले कानुन निर्माणको प्रक्रिया तीव्र गति अघि बढाएको थियो ।
नयाँ कानुन लागू भएसँगै इटाली नारीहत्या वा महिला लक्ष्यित हिंसालाई छुट्टै अपराधका रूपमा परिभाषित गर्ने देशहरूको सूचीमा आधिकारिक रूपमा सामेल भएको छ ।











