Logo
Logo

राप्रपाका सबै समितिको म्याद ६ महिना थपियो


567
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तहका समितिहरूको म्याद ६ महिना थप गरेको छ । बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका कारण पार्टीको महाधिवेशन तत्काल गर्न सम्भव नभएकाले सबै तहका समितिका सदस्यहरू र परिषद् सदस्यहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो । 

The current image has no alternative text. The file name is: rajendra.gif

बैठकले निर्वाचनपछि महाधिवेशन गर्ने गरी कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्न पार्टीका उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा धवल शम्शेर राणा र सहमहामन्त्री प्रकाश रिमाल रहने गरी समिति गठन गरेको छ । त्यस्तै, निर्वाचन र पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै हाल प्रक्रियामा रहेको पार्टीभित्रको कारबाहीको प्रक्रियालाई स्थगन गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । 

त्यसैगरि समान विचारधारा भएका पार्टी, अभियान, समूह तथा परिवर्तनकारी युवाहरूलाई एकीकृत गर्न वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान रहेका वार्ता समिति गठन गर्ने निर्णय भएको उनले बताए । 

बैठकले पार्टीका मधेश प्रदेशसभा सदस्य कन्चन बिच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गर्ने र प्रदेश सभा सदस्य तथा मन्त्री पदबाट फिर्ता हुन निर्देशन दिएको छ । 

बैठकले संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र पुनस्थापना, सङ्घीयता खारेजी लगायतका विषयमा तत्काल समाधान खोज्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ भने आफ्ना मुद्दा स्थापित गराउन मङ्सिर २२ गते उपत्यका व्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्