
काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा विवाद हुँदा धरानमा दुई गुटबीच कुटाकुट भएको छ ।
आसन्न ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनौटका विषयमा नगर पार्टी कार्यालयमा भएको छलफलको बीचमै विवाद चर्किँदा केपी ओली पक्षले ईश्वर पोखरेल समूहका अनिल राजधामीलाई कुटपिट गरेका हुन् ।
बिहीबार दिउँसो युवा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर आन्तरिक सहमति गर्ने कि निर्वाचनमा जाने भन्ने विषयमा छलफल सुरु भएको थियो । इतर पक्षबाट उम्मेदवारी दिएपछि संस्थापन पक्षका कार्यकर्ताले एमाले जिल्ला सदस्य राजधामीलाई कुटपिट गरेका हुन् ।
बिहीबार बेलुका एमाले धरानको कार्यालय नजिकै युवा संघ कोशी इन्चार्ज दिवस राई, धरान–१० का वडाध्यक्ष विवेक राई सहितको समूहले आफुलाई कुटपिट गरी गम्भीर घाइते बनाएको राजधामीले बताए ।
कुटपिटबाट उनको अनुहारमा चोट लागेको छ । राजधामीले युवा प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता गर्न नमानेपछि संस्थापन पक्षले आफुमाथि कुटपिट गरेको उनको आरोप छ ।














