काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ सिंहदरबार पुगेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गर्न प्रसाईँ सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका हुन् । उनको समूहले यसअघि सरकारसँग दुई चरणमा वार्ता गरिसकेको छ ।

प्रसाईँ नेतृत्वको अभियानले विभिन्न २७ बुँदे माग राखी ७ मङ्सिरबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेको थियो । ६ मङ्सिरमा सरकारले अभियानसँग वार्ता गरेको थियो । सो वार्तापछि अभियानले १५ दिनका लागि आन्दोलन स्थगित गरेको थियो ।
१५ दिनभित्र सरकारले माग सम्बोधन गर्ने बताएपछि अभियानले आन्दोलन स्थगित गरेको जनाएको थियो । अभियानले त्यसबेला सरकारसँग वार्ता गर्दा संयोजक प्रसाईँ भने थुनामा थिए ।
सार्वजनिक शान्तिमा खलल पुर्याएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पछि, अदालतको आदेशमा उनी धरौटीमा रिहा भए । त्यसपछि सरकारसँगको वार्ताका लागि प्रसाईँ आफ्नो अभियानको नेतृत्व गदै सिंहदरबार पुगेका हुन् ।














