चितवन । भरतपुर महानगर क्षेत्रमा भइरहेको भूमिगत विद्युतीकरण परियोजनाको ८० प्रतिशत काम सम्पन्न भएको छ। माघ महिनाभित्र सम्पूर्ण कार्य समाप्त गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्मको प्रगति उत्साहजनक रहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ।

आयोजनाले भरतपुरको ६ लेन सडक र बाइपास मार्गमा भूमिगत संरचना निर्माणसँगै, काम पूरा भएका स्थानहरूमा परीक्षण प्रसारणमार्फत विद्युत् आपूर्तिको सुरुआत गरिसकेको छ। आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार हालसम्म करिब ४० प्रतिशत क्षेत्रमा भूमिगत लाइनमार्फत विद्युत् प्रवाह सुरु भइसकेको छ।
आगामी माघको दोस्रो हप्तासम्म सबै काम सक्ने लक्ष्य यथावत् रहेको सुवेदीले बताए। भरतपुर महानगरभित्रका विद्युतीय तारलाई भूमिगत गर्न कुल एक अर्ब ४० करोड रुपैयाँ लागत लाग्नेछ। यो कार्य सन् २०२१ अक्टोबरमा ठेक्का सम्झौता भएपछि औपचारिक रूपमा सुरु गरिएको हो।














