काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच शुक्रवार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको वार्ता मङ्सिर २२ गते प्रधानमन्त्रीसहित पुनः छलफलमा बस्ने गरी सकिएको छ ।

आगामी २२ गते हुने वार्तामा लघुवित्त, सहकारीलगायतका विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरू समेत सहभागी हुनेछन् । वार्तापछि प्रसाईँले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘हामीले निरन्तर उठाउँदै आएका मागहरूका बारेमा विस्तृत छलफल भयो । अब मङ्सिर २२ गते लघुवित्त र सहकारी पीडितका विषयमा सरकार कति गम्भीर र जिम्मेवार बन्ने हो, त्यो हेर्न बाँकी छ । त्यसैगरी जनमतसंग्रहमा जाने, प्रदेश संरचना खारेज गर्ने लगायतका हाम्रा प्रमुख एजेन्डाहरू प्रधानमन्त्रीज्यूसहितको उपस्थितिमा छलफल हुने गरी सहमति भएको छ ।’
दुवै पक्षले वार्तालाई सकारात्मक रूपमा लिएका छन् । दुर्गाको समूहले यसअघि सरकारसँग दुई चरणमा वार्ता गरिसकेको छ । प्रसाईँ नेतृत्वको अभियानले विभिन्न २७ बुँदे माग राखी ७ मङ्सिरबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेको थियो । ६ मङ्सिरमा सरकारले अभियानसँग वार्ता गरेको थियो । सो वार्तापछि अभियानले १५ दिनका लागि आन्दोलन स्थगित गरेको थियो ।
१५ दिनभित्र सरकारले माग सम्बोधन गर्ने बताएपछि अभियानले आन्दोलन स्थगित गरेको जनाएको थियो । अभियानले त्यसबेला सरकारसँग वार्ता गर्दा संयोजक प्रसाईँ भने थुनामा थिए ।
सार्वजनिक शान्तिमा खलल पुर्याएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पछि, अदालतको आदेशमा उनी धरौटीमा रिहा भए । त्यसपछि आज प्रसाईँ सरकारसँगको वार्ताका लागि सिंहदरबार पुगेका थिए ।














