काठमाडौं । ललितपुरस्थित पाटन दरबार क्षेत्रमा सवारीसाधन निषेध गरिने भएको छ । भोलि शनिवारदेखि लागू हुने गरी ललितपुर महानगरपालिकाले सातामा दुई दिन सवारीसाधन निषेध गर्न लागेको हो ।

सम्पदा क्षेत्रमा आउने पर्यटकलाई ओहोरदोहोर गर्न असहज भएको र सम्पदा क्षेत्रमा ‘वाकिङ’ गर्ने यस्तो नियम ल्याएको महानगरले जनाएको छ । सुरुमा परीक्षणकाल रूपमा यो नियम सुरु हुनेछ ।
महानगरका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको पर्यटन विकास र यहाँ आउने पर्यटकको सहजताका लागि यसो गरिएको बताए । उनका अनुसार ‘पाटन पाइलै–पाइलामा’ भन्ने अभियानअन्तर्गत सवारीसाधन निषेध गरिएको हो । यो प्रभावकारी भएमा थप व्यवस्थित बनाइने मेयर महर्जनले बताए ।
यस क्षेत्रमा स्थानीय र व्यवसायीसँगको सहकार्यमा महानगरले सवारीसाधन निषेध गर्न लागेको हो । सुरुमा शनिवार र बुधवार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सवारीसाधन रोक्ने र राम्रो भयो भने फेरि समय थपीने महानगरले जनाएको छ । अवस्था हेरेर सवारीसाधन बन्द गर्ने समयतालिका हेरफेर पनि हुन सक्ने जनाइएको छ । निषेध गरिएको समयमा अत्यावश्यकबाहेक सबै सवारीसाधन रोकिने छन् ।
यस्तो छ नयाँ नियमका चरणहरू
पहिलो चरण: मोमद्गल्ली, गौरीशंकर मन्दिरदेखि ओल्खु गणेश मन्दिरसम्म, भीमसेनस्थान मन्दिरदेखि स्वठ नारायण मन्दिरसम्म तथा स्वठ चोकदेखि क्वाल्खु चोकसम्म (मङ्सिर महिनाको १३, १७ र २० गते दिउँसो १ बजे देखि साँझ ६ बजेसम्म र सोही महिनाको २४ र २७ गते बिहान ८ बजे देखि साँझ ७ बजेसम्म) पूर्ण रूपमा सवारीसाधनहरू निषेध हुने ।
दोस्रो चरण : तिछुगल्ली तथा मंगलबजार चोकदेखि चक्रबहिल चोकसम्म (पुस महिनाको ५, ९ र १२ गते दिउँसो १ बजे देखि साँझ ६ बजेसम्म र सोही महिनाको १६ र १९ गते बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म) पूर्ण रूपमा सवारीसाधनहरू निषेध हुने ।














