काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट गरिरहेको छ । कतिपय जिल्लामा सर्व–सहमति बने पनि धेरै ठाउँमा भने प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधि छानिएका छन् ।

सोही प्रक्रियामा थुप्रै स्थानमा विवाद, झडप र आरोप–प्रत्यारोपले पार्टीभित्रको गम्भीर आन्तरिक तनाव सतहमा आएको छ । संस्थापन र असन्तुष्ट पक्षबीचको टकराव झनै तिक्तो बन्दै गएको छ ।
धनकुटामा मतपत्र च्यातियो
धनकुटामा मतदानकै क्रममा विवाद चर्किँदा मतपत्र च्यातिएको छ । संस्थापन पक्षले एकलौटी मतदान गरिरहेको विरोधमा इतर पक्षले मतपत्र च्यातेका थिए । असन्तुष्ट पक्षले मतपेटिका समेत फ्यालेको थियो ।
जिल्ला कमिटीका अनुसार विवादबीच पनि अन्ततः मतदान सम्पन्न भयो । सदस्य रविन कट्टेलका अनुसार मतपेटिका संकलन भइसकेको र मतगणनाको तयारी भइरहेको छ । सुरुमा केही ठाउँमा विवाद भए पनि छलफलपछि मतदान भएको उनले बताए ।
इतर पक्षका नेता तथा कोशी प्रदेश सांसद इन्द्रमणी पराजुलीका अनुसार संस्थापन पक्षले मतदाता र तल्ला संरचनालाई खबर नै नगरी एकलौटी रुपमा मतदान चलाएको र त्यसकै प्रतिक्रिया स्वरूप झडप भएको हो । उनले जिल्ला नेतृत्वमाथि धाँधलीको भएको आरोप लगाएका छन् ।
मोरङमा हातपातको आरोप
विराटनगरमा मतदान पेचिलो बन्दै जाँदा एमाले महानगर इञ्चार्ज पर्शुराम बस्नेतमाथि कार्यकर्ताले दुर्व्यवहार गरेको दृश्य सार्वजनिक भएको छ ।
तर, बस्नेतले भने हातपात नभएको दाबी गर्दै एक व्यक्तिले धेरै मतदाता लैजान खोज्दा विवाद भएको मात्र स्वीकार गरेका छन् । भीडमा धक्का खाँदा लड्न खोजेको क्षणलाई ‘हातपात’ जस्तो देखिएको उनको भनाइ छ ।
विभेदको आरोप
मोरङमा दलित नेता–कार्यकर्ताले प्रतिनिधि छनोटमा ‘संस्थागत विभेद’ भएको गुनासो गरेका छन् । शनिबारका मतदानमा दलित समुदायको मत अन्य समुदायदेखि छुट्टै राखिएको थियो ।
दलित कोटाका उम्मेदवारलाई दलित सदस्यले मात्रै भोट दिन पाउने, गैर–दलितले नपाउने र दलितले पनि खुला, महिला वा युवा कोटामा मत नहाल्न पाउने व्यवस्था छुवाछुतलाई राजनीतिक रुपमा संस्थागत गरिएको आरोप लगाइएको छ ।
एमाले नेता खेम नेपालीले प्रतिनिधि छनौटको मापदण्डले दलित समुदायमाथि विभेद गरेको र पार्टीभित्रै ‘अछुत’ व्यवहार गरिएको आरोप लगाएका छन् । पूर्व सांसद समेत रहेका नेपालीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै वर्गीयरहित समाज र समानताको वकालत गर्ने कम्युनिस्ट पार्टीले नै प्रतिनिधि चयनमा दलितलाई साँघुरो घेरामा राखेको बताए ।
नेता नेपालीले समाजमा विद्यमान जातीय छुवाछूतको पीडा पार्टीको आन्तरिक लोकतन्त्रमा पनि झल्किएको बताए । ‘दलितले दलित मात्र चुन्न र चुनिन पाउने प्रावधान राखेर सामाजिक–सांस्कृतिक रूपमा उपेक्षित हामी रैथाने दलितलाई झन् साँघुरो र सङ्कीर्ण बनाइएको छ,’ उनले भनेका छन्, ‘फेरि पनि एकदमै अछुत बनाइएको छ । समाजमा पानी अचल त थियो नै, यसपटक मत पनि नचल्ने बनाएको छ ।’
दलितका लागि मतपत्र र मतपेटिका समेत छुट्टै राखिनुले असन्तुष्ट पक्षको आक्रोश बढाएको छ ।
च्यासलमा कर्ण थापामाथि दुर्व्यवहार
एमाले स्थायी कमिटी सदस्य कर्ण थापामाथि पार्टी कार्यालय च्यासलमै दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएको छ । अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा टोलीमा रहेका केही व्यक्तिले थापासँग अमर्यादित व्यवहार गरेको देखिन्छ ।
थापाले आफूलाई पार्टी अध्यक्षले नै आउनुस् भनेकाले जाँदै गरेको तर उनको सुरक्षार्थ भनेर गलत पृष्ठभूमिका मानिसहरू खटिएका रहेछन्, उनीहरूले राजनीतिक व्यवहार गर्न नजानेको बताएका छन् ।
थापाले अध्यक्ष ओलीको वरिपरि हिँड्ने यी व्यक्तिहरूले पार्टीकै बदनाम गरिरहेको बताएका छन् । थापाले आफूलाई दुर्व्यवहार गरिएकोबारे अध्यक्ष ओलीसँग पनि कुरा राखेका बताएका छन् । उनले ओलीलाई यस्ता खालको मान्छेहरुर्लाइ तपाईँले किन अघिपछि लिएर हिँड्नु भएको हो, गलत मान्छेहरू लिएर नहिँड्नुस् भनेको बताएका छन् ।











