काठमाडौँ । चर्चित अन्तर्राष्ट्रिय संगीत च्यानल एमटिभी बन्दको घोषणा गरिएको छ । मनोरञ्जन कम्पनी प्यारामाउन्ट ग्लोबलले यसको पाँच प्रमुख संगीत च्यानलहरु एमटीभी म्युजिक,एमटीभी बिट्स, एमटीभी ८०, एमटीभी ९०, क्लब एमटिभी र एमटीभी लाइभ आउदो डिसेम्बर अन्त्यदेखि स्थायी रूपमा प्रसारण बन्द गर्ने घोषणा गरेको छ ।

यी च्यानलहरु विश्वभरका विभिन्न मुलुकहरू पहिलो चरणमा बेलायत र आयरल्याण्डमा, त्यसपछि अन्य युरोपेली देशहरु, अस्ट्रेलिया, पोल्याण्ड, ब्राजिल लगायत कतिपय अन्तर्राष्ट्रिय बजारहरुमा बन्द हुने बताइएको छ ।
यो कदमले करिब चार दशक लामो संगीत-च्यानल युगको अन्त्य हुन लागेको छ । एमटीभीले अब केवल आफ्नो मुख्य च्यानल एमटीभी एचडी मात्रै चलाउनेछ, जसले मुख्यतः रियालिटी शो र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गर्नेछ ।
यस बन्दका कारण डिजिटल स्ट्रिमिङ प्लेटफर्महरु जस्तै युट्युब तथा टिकटकको उदय र दर्शकहरुको संगीत-भिडियो हेर्ने शैलीमा आएको परिवर्तनलाई मानिएको छ । अब तुरुन्त आफुलाई मनपर्ने भिडियो, नयाँ गीत खोज्न र हेर्न र शेयर गर्न डिजिटल माध्यम उलब्ध रहेकाले संगीत टिभी च्यानलको सान्दर्भिकता नै सकिएको निष्कर्षसहित यी च्यानल बन्द हुन लागेका हुन् ।
एमटीभीका प्रशंसकहरु र संगीत-प्रेमीहरुका लागि यो एक ‘युगको अन्त्य’ झैं महसुस गरिरहेका छन् । किनकि यी च्यानलहरुले ८०-९० को दशकको संगीत, सङ्गीत भिडियो, लाइभ प्रदर्शन र लोकप्रिय संगीत संस्कृति निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।











