Logo
Logo

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्रीको आह्वान


315
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले सन् २०३० सम्म एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।

दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै उनले सन् २०३० सम्ममा एचआइभीको विश्वव्यापी मान्यताअनुसार नेपालले लिएको ९५–९५–९५ लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए ।

लक्ष्यको अर्थ ९५ प्रतिशत एचआइभी सङ्क्रमितहरूले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ ।

‘हालसम्म नेपालले पहिलो ९५ मध्ये ९० प्रतिशत, दोस्रो ९५ मध्ये ८८ प्रतिशत र तेस्रो ९५ मध्ये ७६ प्रतिशत लक्ष्य हासिल गरिसकेको छ । हाल विश्वव्यापी वित्तीय सङ्कट, भेदभावका कारण एचआइभी प्रतिकार्यमा चुनौती कायमै छ । हामी सबैले मिलेर परिवर्तनकारी दृष्टिकोणबाट अगाडि बढ्नु आवश्यक छ जसले गर्दा रोकथाम, उपचार र हेरचाहमा सबैको पहुँच सुनिश्चित हुनेछ,’ डा गौतमले भने ।

नेपालले विगत दुई दशकमा एचआइभी नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै नेपालले प्राप्त गरेका यी उपलब्धिहरुलाई निरन्तरता दिँदै दिगो विकास लक्ष्य प्राप्ति गर्न सक्रियतापूर्वक अघि बढ्न आवश्यक रहेको बताए । उनले यस वर्ष विशेषगरी जेनजी आन्दोलनको दिएको ऊर्जा र सन्देशले एचआइभी एड्स प्रतिकार्यमा पनि अत्यन्त महत्वपूर्ण भूमिका रहने बताए ।

सन् २०१० को तुलनामा २०२४ सम्म आइपुग्दा नयाँ सङ्क्रमण दर ७६ प्रतिशत र एड्सका कारण मृत्यु दर अझ ७६ प्रतिशतले घटेको देखाएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन १.७ जना व्यक्तिहरुमा एचआइभी सङ्क्रमण हुन्छ । यसैगरी सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ व्यक्तिहरुमा एचआइभी सङ्क्रमण भएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्