काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् । उनले ओली एमालेकै ‘ब्रान्ड’ र मुलुकको राष्ट्रिय स्वाधीनताका ‘पहरेदार’ भएको दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा कार्यक्रममा उनले भने, ‘केपी शर्मा ओलीलाई शक्तिशाली देखेरै देशी-विदेशी पक्षबाट षड्यन्त्र भएको हो । उहाँमाथिको आक्रमण वर्षौंदेखि तयार पारिएको योजना हो । जेनजी पुस्ताको भावनालाई भड्काएर बन्दै गरेको देश पनि जलाउने प्रयास भयो ।ओलीमाथिको प्रहार भनेको नेपाल र नेपाली स्वाधीनतामाथिको प्रहार हो ।’
उनले आफू ओलीसँग धेरै विषयमा असहमत रहे पनि मुलुकको हित, लोकतान्त्रिक आन्दोलनको रक्षा र कम्युनिस्ट आन्दोलनको निरन्तरताका लागि ओली नै अपरिहार्य रहेको बताए । उनले भने, ‘मेरो समर्थन ओलीलाई नै छ। अबको केही समयमै सिङ्गो मुलुकले ‘ओली-ओली’ भन्ने दिन आउँछ । जबरजस्त भ्रष्टाचारको ट्याग लगाएर बदनाम गर्न खोजिए पनि केपी ओली इतिहास बन्नुहुन्छ । नेपाली लोकतान्त्रिक आन्दोलन र देश रक्षाका लागि उहाँ नै चाहिन्छ ।’
आगामी ११औँ महाधिवेशनमा ओलीलाई नै अध्यक्ष बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘११औँ महाधिवेशनले उहाँलाई नै अध्यक्ष बनाउनुपर्छ । म आफैँ पनि त्यसका लागि लागिपरेको छु । ओली भनेका एमालेका ब्रान्ड हुनुहुन्छ ।’
यसैक्रममा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीतिर संकेत गर्दै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) को उत्तराधिकारी परिवारको सदस्य हुन नसक्ने जिकिर पनि गरे । कुनै बेला भण्डारी निकट मानिने गुरुङ पछिल्लो समय ओलीका निकै कट्टर समर्थकका रूपमा देखिएका छन् ।











