काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले नेपालको अर्थतन्त्रले हाल भोगिरहेको सबैभन्दा ठूलो चुनौती तरलता व्यवस्थापन नै रहेको बताएका छन् । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता र न्यून ब्याजदर कायम रहे पनि ठूला पूर्वाधार परियोजनामा लगानी विस्तार हुन नसकेको विषय गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सव तथा सम्मानरपुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर पौडेलले मौद्रिक नीतिमा समावेश गरिएका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अपेक्षित नतिजा हासिल गर्न कठिनाइ भएको बताएका हुन् । उनले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी केही सीमित क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै स्थानीय आवश्यकता र प्राथमिकताअनुसार कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
विशेष गरी कृषि, पर्यटन, जलविद्युत् र उत्पादनमूलक उद्योगहरूमा कर्जा प्रवाह बढाउन सके आर्थिक गतिविधिले गति लिने उनको भनाइ छ । ‘कर्जा प्रवाह गर्दा जोखिम व्यवस्थापनलाई ध्यान दिँदै स्थानीय आर्थिक प्राथमिकता र उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिनुपर्छ,’ गभर्नर पौडेलले भने । उनले बैंकहरूले नाफा वृद्धिका लागि ब्याजदरमा मात्र निर्भर नभई व्यवसाय विस्तार, सेवा प्रवाहमा सहजता र डिजिटल प्रविधिको भरपूर उपयोगमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।
‘मौद्रिक नीतिका लक्ष्यहरू प्राप्त गर्न बैंक तथा वित्तीय संस्थाहरू आफैँ सक्रिय बन्नुपर्छ । आगामी दिनमा वित्तीय तथा मौद्रिक नीति झर्नै लचिलो बन्दै जाने छन्, त्यसको अधिकतम लाभ लिन बैंकहरू तयार रहनुपर्छ,’ उनले भने । अर्थतन्त्रको सुधारमा सबै पक्ष उत्तिकै जिम्मेवार रहेको बताउँदै गभर्नर पौडेलले वर्तमान अवस्थामा सरकारको पुँजीगत खर्च उल्लेख्य रूपमा बढाउनु अपरिहार्य रहेको बताए । ‘अर्थतन्त्रका विभिन्न सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख छन्। यसलाई थप गतिशील बनाउन सबै क्षेत्रलाई समान प्राथमिकताका साथ अघि बढाउन जरुरी छ,’ उनले भने ।











