काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोमबार निर्वाचन आयोग बहादुर भवन कान्तिपथ, काठमाडौंमा कार्यालय स्थापना गरेको हो ।

कार्यालयको एक समारोहकाबिच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले उद्घाटन गरे । समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको गत शुक्रवारको निर्णयअनुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएका आयोगका सचिव माहादेव पन्थले आजै जिम्मेवारी सम्हालेका छन् ।
उक्त निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतको रूपमा आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईलाई तोकिएको छ। समानुपातिक निर्वाचन व्यवस्थापनको लागि कुल ४१ जना कर्मचारीहरू कार्यरत रहने छन् ।
कार्यालयको उद्घाटन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक निर्वाचन प्रणालीका सबै कार्यहरू निर्वाचन अधिकृतको कार्यालयबाट हुने हुँदा सबै सरोकारवालालाई सहज हुने विश्वास व्यक्त गरे ।
उनले सूत्रात्मक पद्धतिबाट राष्ट्रिय तथ्याङ्क कार्यालयसमेतको सहयोगमा कानुन बमोजिमका जातीय, भौगोलिक, लैङ्गिक लगायतका समूहहरू छुट्टाएर प्रतिनिधि चयन गरिने भएकोले सबै पक्षको भरोसा रहने विश्वास समेत व्यक्त गरे ।











