
काठमाडौं । यही मंसिर २७ गते काठमाडौंमा आयोजना हुने नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि घोषित अघोषित केपी शर्मा ओली र विद्या भण्डारीबिच प्रतिस्पर्धा हुने देखिएको छ । नवौँ र १०औँ महाधिवेशनमा ओली नै एमालेको अध्यक्ष हुनुपर्छ भनेर परोक्ष प्रत्यक्ष लविङ गरेकी पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष पदमा कानुनी रूपमा प्रतिस्पर्धा गर्न नमिलेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अघि सारेर प्रतिस्पर्धामा उत्रिएकी छिन् ।
जेनजी आन्दोलनको क्रममा बालुवाटारबाट हेलिकप्टरमा भागेका ‘भगौडा प्रधानमन्त्री’ केपी शर्मा ओलीलाई पुनः राजनीतिमा आउन लाज लाग्नुपर्ने हो । जेनजी युवामाथि बर्बर दमन गरेका, दुई तिहाइको सरकार चलाउन नसकेर पटक पटक संसद् विघटन गरेका ‘अक्षम’ ओलीलाई एमालेले तत्कालै अध्यक्षबाट हटाउनुपर्ने हो ।
जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको जिम्मेवारी लिँदै राजनीतिबाट अवकाश लिनुपर्नेमा ओली उल्टै जेनजी आन्दोलनलाई खिसीट्युरी गर्दैछन् । ओली सत्तामा रहँदा फाइदा लिएकाहरू ओलीलाई नै पुनः अध्यक्ष बनाउने लविङमा छन् ।
ओली चार पटक प्रधानमन्त्री भए पनि चुनावी घोषणापत्रअनुसार काम गर्न सकेनन् । उनको शासनकालमाा विकृति, विसंगति र भ्रष्टाचार मौलाउँदै गयो । संविधान जारी भएपछिको १० वर्षमा आधाभन्दा बढी समय ओली नै प्रधानमन्त्री भए । दुई तिहाइको सरकारको नेतृत्वसमेत गरे । तर, उनको ध्यान सुशासन, सामाजिक न्याय र विकास निर्माणमा गएन ।
यती, ओम्नी, गिरिबन्धु टि स्टेट, बासबारी छालाजुत्ता कारखाना, बालमन्दिर जग्गा, लिचीघारी बगैँचाजस्ता भ्रष्टाचारका काण्डहरू एकपछि अर्को गर्दै बाहिरिए । नीतिगत भ्रष्टाचारले सीमा नाघ्यो । कम्युनिष्ट पार्टीको नाममा आएको दुई तिहाइ जनमतलाई असंवैधानिक रूपमा संसद् विघटन गरेर ध्वस्त पारिदिए । ओलीकै कारण कम्युनिस्टहरू आजको दिनमा रक्षात्मक अवस्थामा पुगेका छन् भने एमालेप्रति विशेषगरी युवा पुस्ताको वितृष्णा छ । तर पनि ओली नेतृत्व छाड्न तयार छैनन् ।
ओलीले पार्टीलाई प्रालि बनाएकै कारण कार्यकर्तामा चरम निराशा छ । त्यहीकारण ठुलो सङ्ख्यामा एमालेका संगठित सदस्यहरू प्रतिनिधि चयन गर्ने मतदानमा सहभागी नै भएनन् । ओलीका कारण कम्युनिष्ट आन्दोलन नै संकटमा धकेलिएपछि एमालेमा उनको विकल्प खोज्न लागिएको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल औपचारिक रूपमा मैदानमा देखिए पनि त्यसका पछाडि विद्या भण्डारीकै बल रहेको छ । मंसिर पहिलो साता केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका ईश्वर पोखरेललाई विद्या भण्डारीको टिमले मैदानमा ल्याएको हो । भण्डारीको टिम नै पोखरेललाई लिएर अघि बढेपछि ओली प्रतिस्पर्धा गर्न राजी देखिएका छन् । ‘मलाई अब पछि हट्ने छुट छैन, ओली अभिभावक भएर बस्नुहुन्छ, पार्टी सामूहिक नेतृत्वमा चल्छ’, पोखरेलले सार्वजनिक रूपमा जारी गरेको वक्तव्यमा उल्लेख छ ।
विगतमा ओलीको सारथि रहेका ईश्वर पोखरेल अहिले प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेका छन् । ओलीका मुख्य प्रचारक रहेका गोकुल बाँस्कोटा, विनोद ढकाल पोखरेलको दायाँ हात बनेका छन् । योगेश भट्टराईले प्रचार र दस्ताबेज लेखनको सम्पूर्ण जिम्मा लिएका छन् भने कृष्णप्रसाद दाहालले कार्यालयको कमान्ड सम्हालेका छन् । ओली समूहमा रहेका विजय सुब्बा पनि निर्वाचन आयोगको प्रमुखबाट तल आएर सचिवमा भिड्ने मनस्थितिमा पुगेका छन् ।
ओलीको जिल्ला झापा, तेह्रथुमबाट घाटा भैसकेको छ । एलपी सावा लिम्बू र अग्नि खरेलले साथ छाडेका छन् । ओलीका प्रिय विजय सुब्बा झोली उठाएर हिँड्न बाँकी रहेको छ । ओलीको गृह प्रदेशबाटै प्रतिनिधि छनौटमा कमजोर देखिएका छन् । अहिलेसम्मको तथ्यांकअनुसार कोशी प्रदेशबाट ४० प्रतिशत मात्रै प्रतिनिधि ओलीको पक्षमा छन् । जसले गर्दा उनको आधार किल्ला भत्किएको छ ।
मंसिर १३ गते विवादका बीच कतै मतदान त कतै सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । प्रतिनिधिहरू अहिले को कता भनेर खुलिसकेका छैनन् । कोशीमा जस्तै बलियो गरी विद्या–पोखरेलको टिम अन्य प्रदेशबाट आए÷नआएको खुल्न सकिरहेको छैन । कोशीको प्रतिनिधि आँकलन गरेर ओली पक्षका नेताहरू भानुभक्त ढकाल, राजन भट्टराई, उषाकला राई, विशाल भट्टराई आत्तिएको अवस्था छ । हिक्मत कार्की पदाधिकारीको दावी गरिरहँदा ओली की पोखरेल भन्नेमा दोधार देखिएका छन् ।
मधेश प्रदेशमा सरोज यादव ओलीतिर खुल्दा रघुवीर महासेठ कतै खुलेका छैनन् । विद्या–पोखरेल समूहले महासेठ आफ्नो पक्षमा आउने आँकलन गरिरहेको छ । अहिलेसम्म प्राप्त प्रारम्भिक विवरणले विद्या–ईश्वर तत्काल पदाधिकारी समूह निर्माण नगर्ने निचोडमा पुगेको छ । गण्डकीमा खगराज अधिकारी र पृथ्वी सुब्बको लडाइ ओलीका लागि भने सकस उत्पन्न भैसकेको छ ।
प्रतिनिधि छानेपछि ओलीनिवास गुण्डुमा बसेको विशेष बैठकले पदाधिकारीमा तत्काल निर्णय लिइहाल्ने परिस्थितिबाट पछि सरेको छ । पार्टीका जनवर्गीय संगठन, केन्द्रीय कमिटी र केन्द्रले मनोनयन गर्ने प्रतिनिधिमा भने अध्यक्ष ओली पक्ष हाबी हुने छ । त्यसमा पोखरेल पक्षलाई कमजोर बनाउने ओली नीतिमा परिवर्तन हुँदैन ।
ओली तेस्रो कार्यकाल अध्यक्ष बन्नु हुँदैन भन्दै आएको विद्या–पोखरेल समूहले प्रतिनिधि चयनपछि रणनीति बदल्न थालेको छ । विद्या–पोखरेल समूहले रणनीति बदल्न थालेपछि ओली पक्षले पदाधिकारीको सङ्ख्या बढाउने गरी महाधिवेशनमा प्रस्ताव लैजाने तयारी गरेको छ । भदौ २०–२२ ललितपुरमा भएको विधान महाधिवेशनले एमालेको पदाधिकारी सङ्ख्या १९ जनाबाट १५ जनामा झारेको छ । यस्तै, स्थायी कमिटीको संरचना हटाइएको छ, केन्द्रीय कमिटी २५० मा सीमित गरिएको छ ।
यस्तो अवस्थामा एमालेको केन्द्रीय सदस्यदेखि पदाधिकारी बन्न चाहने सङ्ख्या अधिक छ । फेरि अध्यक्ष उठ्ने निश्चित भए पनि ओलीले क–कसलाई पदाधिकारी बनाउँछन्, टुङ्गो छैन । आफ्नो टिममा भाग नपुगेपछि विद्या–पोखरेल समूहमा नेताहरू जाने आँकलनमा ओलीपक्ष जानकार रहेको छ । संकटमा साथ दिएका नेतालाई ओलीले जिम्मेवारी दिने गरेका कारण यसपटक ओलीले विष्णु पौडेल, लगायतका नेताहरू पाखा लगाएर शंकर पोखरेल, भानुभक्त ढकाल, राजन भट्टराई, महेश बस्नेत, शेरधन राईलाई अघि सार्ने देखिएको छ ।
त्यसो हुँदा प्रदीप ज्ञवाली महासचिवको उम्मेदवार बन्दा पृथ्वी सुब्बा गुरूङ स्वतः पाखा लाग्ने भएमा विद्या–पोखरेल पक्ष बलियो हुने अवस्था छ । गुरूङ भड्किएमा संकट पर्ने जानकार रहेकाले लामो समयदेखि ओलीले साथमै राखेर पकाउँदै आएका छन् ।
यसपटक भानुभक्त ढकाल, खगराज अधिकारी, हिक्मत कार्की, महेश बस्नेत लगायत केही नेतालाई ओलीले पदाधिकारीमा समेट्ने भनिए पनि कार्कीको अवस्था सुनिश्चित छैन । अधिकारी पनि ढलमलमै छन् । उता कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिममा राजेन्द्र सिंह रावल पनि आंकाक्षी रहेका छन् । उनीहरू अहिलेसम्म ओली पक्षमा रहेका छन् । ओलीका पक्षमा रहेका आंकाक्षीहरूको सङ्ख्या हेर्दा समेट्न कठिन देखिएको छ ।
विगतमा विद्या भण्डारीलाई च्यापेर लाभ लिनेहरू अहिले ओलीको पक्षमा देखिए पनि अन्तिममा विद्या– पोखरेल पक्षले आफ्नो माहौल बन्ने आँकलन गरिरहेको छ । ‘हामी चकटीमा बस्न तयार छौँ, यसपटक पदाधिकारीमा पुरै सेट परिवर्तन गरेर अघि बढौँ भन्ने मेरो आग्रह र अनुरोध छ’, योगेश भट्टराईले विद्यासँग भनेका थिए ।
उनको भनाइलाई आधार मान्ने हो भने यसपटक विद्या–पोखरेलको पक्षबाट पदाधिकारीमा केहीबाहेक सबै नयाँ अनुहारले प्राथमिकता पाउनेछन् । युवाहरूको सहभागिता पनि उल्लेख्य हुनेछ । ओली समूहका स्थायी कमिटी र पोलिटब्युरोमा लामो समय रहेका नेता बढुवाको पर्खाइमा रहेको तर सबैले जिम्मेवारी पाउने सम्भावना नभएका बेला त्यसको फाइदा विद्या–पोखरेल समूहले उठाउन सक्छ ।
विद्या–पोखरेल समूहले यतिबेला तीन नेतामा ध्यान दिएको छ । उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव रघुवीर महासेठलाई तान्न सके महाधिवेशनको नतिजालाई आफ्नो पक्षमा पार्न सहज हुने सो समूहको दाबी छ । पौडेल देशभरि सांगठनिक संरचना भएका नेता हुन् । यस्तै, गण्डकीका बलिया जनाधार भएका नेता गुरुङ हुन् भने मधेसमा राम्रै पकड जमाएका महासेठलाई विद्या–पोखरेल समूहले आफ्नो समूहमा ल्याउन विभिन्न चरणमा छलफलसमेत गरेको छ ।
ओलीले खुला प्रतिस्पर्धालाई स्वीकार गरेर जाने बताइरहँदा महाधिवेशन प्रतिनिधि छनोटमा दुई समुहबीच तीव्र असमझदारी बढेकाले पनि नतिजा प्रतिस्पर्धात्मक हुने अवस्था देखिएको छ । ‘सकेसम्म सहमतिकै साथ अघि बढ्नुपर्छ, सहमति नै गरौँ, तर प्रतिस्पर्धालाई हामी नराम्रो मान्दैनौँ ।
प्रतिस्पर्धा गर्न सबैलाई छुट छ, एमालेमा आन्तरिक लोकतन्त्र नै नभएको भनेर होच्याइएको छ, प्रतिस्पर्धा गर्न चाहनेले प्रतिस्पर्धा राम्रोसँग गर्न पाउने छन्, ओलीले आइतबार मात्रै भनेका थिए । विद्या– पोखरेल समूहले आफूलाई निर्विरोध छोड्दैनन् भन्ने संकेत पाएपछि ओलीले यस्तो अभिव्यक्ति दिन बाध्य भएका छन् ।
ओलीले यसो भनिरहँदा महाधिवेशन प्रतिनिधि छनोटमा थुप्रै ठाउँमा दुई समूहबीच तनावको स्थिति सिर्जना भएको थियो । नेताहरूबीच द्विपक्षीय तानातानले आपसी मतभेद बढाएको थियो । यो क्रम प्रतिनिधि मनोनयनसम्म पुग्नेछ ।
विद्या–पोखरेल समूहका नेताहरूले ओली पक्षले सर्व सहमतिका नाममा प्रतिनिधि कब्जा गर्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधि छनोटमा मात्र नभई एमालेको केन्द्रीय समितिका नेताहरूमाथि समेत एकअर्काप्रति वैरभाव देखिएको छ । आइतबार च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष ओलीलाई भेट्न गएका नेता कर्ण थापामाथि दुव्र्यवहार भएको भिडियो सार्वजनिक भएको छ ।
सो घटनामा ओलीको सुरक्षार्थ खटिएका केही व्यक्तिहरूले अभद्र व्यवहार गरेको थापाले टिप्पणी गरेका छन् । ओली–पोखरेल पक्षका नेताबीच महाधिवेशनकै विषयलाई लिएर असमझदारी चुलिँदै जाँदा नेताहरूमाथि मनोबल कमजोर पार्नेगरी ओली पक्षका नेताहरू प्रस्तुत हुन थालेका छन् ।
भूगोलबाट प्रतिनिधि छनोटमा मारामारको अवस्था भइरहँदा आइतबार अध्यक्षका दुवै आकांक्षी ओली र पोखरेल एकै मञ्चमा उपस्थित थिए । महाधिवेशनको लोगो सार्वजनिक गर्दा दुई नेताबीच संवाद भएको देखिएन । कार्यक्रम सकिएपछि ओलीले तानेरै सामूहित तस्बिर खिचाएबाहेक नेताहरूबीच हार्दिकता थिएन । शीर्ष नेताबीच प्रस्ट दुई कित्ता देखिएपछि प्रतिनिधि छनोटमा त्यसको असर देखिएको छ । एमाले महाधिवेशनका लागि कुल २ हजार १ सय २७ प्रतिनिधि छनोट हुनेछन् । पार्टी सदस्यताको सङ्ख्या अनुपातमा विभिन्न क्षेत्र छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाएको छ ।











