Logo
Logo

दुई पुस्तक एकसाथ लिएर आए श्याममोहन


378
Shares


काठमाडौं । पुराना पर्यटन व्यवसायी श्याममोहन श्रेष्ठको जीवनकथा ‘एक फिरन्तेको चट्याङे जीवन’ र ‘एन ओभरल्यान्ड ओडिसी’ एकसाथ पाठकमाझ आएका छन् ।

राजधानीमा आयोजित विशेष समारोहमा पूर्व राजदूत केदारभक्त माथेमा, लेखक कर्ण शाक्य, चलचित्र निर्देशक प्रकाश सायमी, साहित्यकार भागीरथी श्रेष्ठ, प्राध्यापक डा. काशीराज पाण्डे, बैंकर सुशीलराम माथेमा, गेट कलेजका संस्थापक खेम लकाई र लेखकले संयुक्त रूपमा उक्त पुस्तक लोकार्पण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले श्याममोहनका दुवै पुस्तक जीवनमा निरन्तर अगाडि बढ्ने तर कहिल्यै हार नमान्नेको जीवनकथा भएको बताए । समाजमा आफ्नो स्थान खोज्न संघर्ष गरिरहेका युवा पुस्ताका लागि पुस्तक प्रेरणादायी रहेको उनको टिप्पणी छ ।

‘श्याममोहनलाई मैले ६ दशक पहिले दरबार स्कुलमा फ्रेन्च भाषा पढ्दा भेटेको हुँ,’ माथेमाले भने, ‘यी दुई पुस्तकमा मेरो पुस्ताको कथा समेटिएका छन् । त्यसैले पनि मलाई अति रोचक लागेको छ । यसले नेपालको बडी अफ नलेज पनि फराकिलो पारेको छ ।’

साथै उनले जीवनका घटना र अनुभवलाई केही पनि नलुकाईकन राखेकामा पनि लेखकको प्रशंसा गरे । पर्यटन व्यवसायी एवं बेस्टसेलर लेखक शाक्यले दुवै पुस्तकमा ’सेन्स अफ ह्युमर’ प्रशस्त रहेको बताए ।

‘श्याममोहन र म सन् १९७०–७१ देखिका साथी हौं । उनले मलाई एयर फ्रान्सको अफिसमा फ्रान्सबाट ल्याएको तीतो कफी पहिलो पटक खुवाएका थिए,’ उनले भने, ‘हामी अलिअलि सोखिन, अलिअलि हाउडे, अलिअलि हिप्पी, अलिअलि सनकी र अलिअलि रौंसे हौं । बेलाबेलामा एकअर्कालाई असनको गाली पनि गर्छौं ।’

श्याममोहनको उतारचढावमय जीवनकथामा सप्तरंगी इन्द्रेनीको छाया रहेको र त्यो मनको मसीले लेखिएको उनले औंल्याए ।निर्देशक सायमीले श्याममोहन श्रेष्ठका दुई पुस्तक आत्मकथा मात्रै नभएर यात्रा, प्रेम, रोमान्स, अनुभूति र आत्मखोजको रोमाञ्चक दस्तावेज भएको बताए ।

‘नेपाली समाजका विशिष्ट व्यक्तित्व श्याममोहनले दिएका विशिष्ट कृति आद्योपान्त पठनीय छन्,’ उनले भने, ‘यसमा फ्रान्स–नेपाल मैत्री सम्बन्धको नालीबेली पनि छ । यसको प्रभाव र महत्त्व लामो समयसम्म रहनेछ ।’

साहित्यकार भागीरथी श्रेष्ठले पुस्तक हातमा लिएपछि नसकुन्जेल छाड्न नसकिने खालको रहेको सुनाइन् । श्याममोहनको महत्त्वाकांक्षी तर इमानदार जीवन पुस्तकमा भेटिने उनको टिप्पणी थियो ।

प्राध्यापक डा. पाण्डेले सन् १९७० मा २२ वर्षे अल्लारे उमेरमा काठमाडौंदेखि पेरिससम्म सात महिना लगाएर बस र रेलमा गरेको स्थलगत यात्रा पाउलो कोएल्होको ’द अल्केमिस्ट’ को कथाजस्तै भएको बताए । बैंकर माथेमाले दुवै पुस्तक मनमोहक उपन्यास जस्तो रहेको औंल्याउँदै अत्यन्त सहज रूपमा आफ्नो जीवनका सबै घटनालाई साहसपूर्वक खुलेर लेख्न श्रेष्ठ सफल रहेको टिप्पणी गरे ।

कार्यक्रममा लकाईले श्याममोहनले आफ्नो जीवनलाई खुला पुस्तकका रूपमा प्रस्तुत गरेको र समाजले कोरेका ठीक, बेठीक आदि नैतिक परिधिको साँधसीमामा नबाँधिईकन लेखेको बताए भने लेखक श्रेष्ठले आफूले ५५ वर्षअगाडि पुस्तक लेख्ने देखेको सपना बल्ल पूरा भएकमा सन्तोष व्यक्त गर्दै आफ्नो जीवनको आरोह, अवरोहका बारेमा भावी पिंढीलाई थाहा दिन नेपाली र अंग्रेजी दुवै भाषामा पुस्तक लेखेको सुनाए ।

नेपाल–फ्रान्स उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहेका श्याममोहन श्रेष्ठले ३० वर्ष एयर फ्रान्समा काम गर्नुका साथै धुलिखेलमा मिराबेल होटल खोलेर पर्यटन व्यवसायलाई महत्त्वपूर्ण योगदान गरेका थिए । नेपाल–फ्रान्स सम्बन्धमा विशेष भूमिका खेलेबापत उनले सन् २०१९ मा फ्रान्स सरकारको सर्वोच्च नागरिक सम्मान ’सभालियँ दँ लोर्द नेसियोनाल द ला लेजियों दो–नोर्’ प्राप्त गरेका छन् ।

‘एक फिरन्तेको चट्याङे जीवन’ र ‘एन ओभरल्यान्ड ओडिसी’ मा श्याममोहनको झण्डै आठ दशक लामो जीवन यात्राका रोचक–घोचक प्रसंगहरू इमानदारीपूर्वक समेटिएका छन् । इन्डिगो इन्कले प्रकाशनमा ल्याएको नेपाली पुस्तकको मूल्य ७९९ र अंग्रेजीको मूल्य ५९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्