
काठमाडौं । नेकपा (एमाले)मा नेतृत्व हस्तान्तरणको विषय अत्यन्तै पेचिलो बनेको छ । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको एमालेमा केपी शर्मा ओली अध्यक्ष भएपछि नेतृत्वको प्रतिस्पर्धा अस्वस्थ र असहज मात्रै होइन, षड्यन्त्रको सिकार नै बन्नुपर्ने स्थिति आएको छ । आफूमाथि प्रश्न उठाउनेलाई ओलीले प्रतिशोध साध्दै आउनुको पछाडि उनको कमजोर मानसिकता नै हो ।
एमाले नेताहरू स्वयंले भन्ने गर्छन्, ९औँ महाधिवेशनमा वामदेव गौतम र ईश्वर पोखरेलले साथ नदिएको भए ओली एमालेको अध्यक्ष नै बन्ने थिएनन् । त्यसअघि गौतम र पोखरेल दुवै ओलीको टिममा थिएनन् । बुटवलमा सम्पन्न ८औँ महाधिवेशनमा झलनाथ खनालको टिममा रहेर गौतमले उपाध्यक्ष र पोखरेलले महासचिव जितेका थिए । खनालसँग ओली अध्यक्षमा पराजित भएका थिए ।
वामदेव गौतम र ईश्वर पोखरेलले ९औँ महाधिवेशनमा साथ दिएर ओलीलाई अध्यक्षमा निर्वाचित गराए पनि ओली दुवै नेतालाई किनारा लगाउने काम गरे । ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री र पोखरेललाई पार्टी अध्यक्ष बनाउने आश्वासन दिएका थिए । तर, दुवै नेतालाई ओलीले धोका दिए ।
एमाले विभाजनपछि गौतम एमाले परित्याग गरेर नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध भएका छन् भने पोखरेललाई बिदा हुन ओलीले चेतावनी दिएका छन् । पोखरेल ओलीसँग ११औँ महाधिवेशनमा त्यसै भिड्न लागेका होइनन् ।
ओली ‘जे भन्छन्, त्यो गर्दैनन्, जे गर्छन्, त्यो भन्दैनन्’ भन्ने पोखरेलले बुझेरै ओलीलाई चुनौती दिन लागेका हुन् । त्यति मात्रै होइन, संकटपूर्ण अवस्थामा साथ दिँदै आएकी विद्या भण्डारीको पार्टी सदस्यता ओलीले खाइदिए । नवीकरण भइसकेको भण्डारीको सदस्यता ओलीले हठात् मौखिक आदेशको भरमा खारेज गरिदिएपछि भण्डारीले ओलीको खास चरित्र राम्रोसँग बुझिन् । त्यसैले भण्डारीले महाधिवेशनमा ईश्वर पोखरेललाई साथ दिएकी छिन् ।
ओली पदका लागि जे पनि गर्न तयार हुन्छन् भन्ने कुरा विभिन्न घटनाक्रमले पुष्टि गर्छ । ओली जस्तोसुकै आश्वासन पनि दिन्छन् तर, कार्यान्वयन गर्दैनन् । त्यहीकारण ओलीलाई पराजित गर्न एमालेमा ओलीविरोधी क्याम्प देशव्यापी विस्तार भएको छ ।
सच्चा, क्रान्तिकारी नेता तथा कार्यकर्ता ओलीबाट अब एमाले चल्दैन भन्ने निचोडमा पुगेका छन् । त्यहीकारण ओलीले देशव्यापी सर्कुलर गरेर ‘जसरी भए पनि आफूपक्षधरलाई प्रतिनिधि बनाउन’ निर्देशन नै दिएका थिए । त्यसका बाबजुद पोखरेल पक्षधर प्रतिनिधि पनि उल्लेख्य आएका छन् ।
कतिपयले हाल मौन बसे पनि महाधिवेशनमा नेतृत्व परिवर्तनको पक्षमा मतदान गर्ने बताएका छन् । ओली स्वयंले विधानमा कार्यकारी पदमा दुई वर्ष र ७० वर्षे उमेरहदको व्यवस्था गर्न दबाब दिएका थिए । ओलीले दुई कार्यकाल र ७० वर्षे उमेरहद पार गरिसकेका छन् । तर, उनी फेरि अध्यक्ष बन्नका लागि दुवै प्रावधान विधानबाट हटाइसकेका छन् ।
ओलीले विगतमा कार्यकर्तामा आधारित राजनीतिक वैचारिक पार्टी संगठन निर्माणका लागि अन्तरपार्टी लोकतन्त्रको पक्षपोषण गरे । तर, अहिले प्रतिष्पर्धामा आउन चाहनेलाई प्रतिशोध साँधेर ओलीले विगतमा पदमा पुग्नका लागि मात्रै ती विषय उठाएका थिए भन्ने पुष्टि गरिदिएका छन् ।
एमाले यस्तो पार्टी हो, जहाँ बहालवाला महासचिवले नै अर्को नेतालाई महासचिवमा प्रस्ताव गरेर नेतृत्व हस्तान्तरण भएको थियो । चौथो महाधिवेशनमा बहालवाला झलनाथ खनालले जननेता मदन भण्डारीलाई महासचिवमा प्रस्ताव गर्नुभएको थियो । जसलाई सिंगो हलले सर्वसम्मतिले समर्थन जनाएको थियो । उक्त महाधिवेशन नेतृत्व हस्तान्तरणको अत्यन्त सहज, स्वाभाविक र उदाहरणीय थलो बनेको थियो । तत्कालीन नेकपा (माले) ले निर्दलीय र निरंकुश शासन व्यवस्थामा प्रतिकूलतामा पनि लोकतान्त्रिक र हार्दिकता प्रदर्शन भएको थियो । तर, अहिले पञ्चायतभन्दा चर्को र निरंकुश शासक बनेका छन् ।
तलसम्मै गुटगत विभाजन
११औं महाधिवेशन नजिकिँदा ओली पक्ष र विद्या भण्डारी–ईश्वर पोखरेलपक्षबीच तल्लो तहसम्मै ध्रुवीकरण भएको छ ।महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा केही जिल्लामा संस्थापन र इतरपक्षले प्यानल नै बनाएरै चुनाव लडेका छन् भने केही जिल्लामा दुई समूहले भागबन्डा गरेर महाधिवेशन प्रतिनिधि चयन गरेका छन् । सहमति भएको ठाउँमा गुटगत भागबन्डा गरिएको छ भने मतदान भएको ठाउँमा गुटगत प्यानल खडा भएका छन् ।
कतिपय जिल्लामा मतपत्र च्यातिने स्थिति बन्यो भने कतिपयमा कुटाकुट नै भयो । धनकुटामा विवाद हुँदा मतपत्र च्यातिएको थियो भने ओखलढुंगामा खसेको भन्दा धेरै मत देखाइएको भन्दै विवाद भएको थियो । तल्लो तहसम्मै प्रस्ट ध्रुवीकरण देखिएको र आफ्नो पक्षमा पर्याप्त प्रतिनिधि चयन भएकाले गोप्य मतदानमा नेतृत्व हस्तान्तरण हुने दाबी विद्या–ईश्वर पक्षको छ ।
ओलीको गृह जिल्ला झापामा ओलीपक्षले वर्चस्व कायम गरेको छ भने पोखरेलको गृहजिल्ला ओखलढुंगामा पोखरेल पक्षले क्वीनस्वीप गरेको छ । मोरङ–६ मा विनोद ढकाल समूहले क्लिनस्वीप गरेको छ । ढकाल विद्या–ईश्वर समूहमा छन् ।
बैतडीसहित कतिपय जिल्लामा भने मनोमानी ढंगले प्रतिनिधि चयन गरिएको भन्दै विरोध भएको छ । कतिपय जिल्लामा मनोमानी प्रतिनिधि चयन गरेको भन्दै नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । २१औँ शताब्दीमा ‘झोले’ र ‘दास’ नबन्ने भन्दै एमाले परित्याग गर्नेहरूको सङ्ख्या बढ्दो छ ।
गाउँपालिका अध्यक्षले त्यागे एमाले
बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले एमाले परित्याग गरेका छन् । महाधिवेशनमा प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जाल (फेसबुक)मा स्टाटस लेखेर पार्टी छाडेको बताएका छन् । आफूलाई प्रतिनिधि छनोट गर्नबाट वञ्चित गरिएको भन्दै फेसबुकमा उनले बैतडीबाट प्रतिनिधित्व गर्ने एमाले नेता दामोदर भण्डारी र लीलाधर भट्टको आलोचना गरेका छन् । पञ्चेश्वर गाउँपालिकामा चन्द दुई कार्यकाल अध्यक्षमा निर्वाचित भएका थिए ।
आधा प्रतिनिधि पनि आएनन् भोट हाल्न
संगठित सदस्यहरू नै मतदान गर्न नआएपछि एमालेप्रतिको वितृष्णा उजागर भएको छ । एमालेमा प्रतिनिधि चयनका लागि ३० भन्दा बढी जिल्ला र सयभन्दा बढी निर्वाचन क्षेत्रमा चुनाव भएको थियो । तर औसतभन्दा निकै कम मत खस्यो । यसले एमालेप्रतिको अविश्वास प्रकट गर्छ ।
विशेष प्रदेश अन्तर्गतको उद्योग, व्यवसाय जिल्ला कमिटीमा १४ सयभन्दा बढी मतदाता रहेकामा २०० पनि मत खसेन । पेशागत जिल्ला कमिटीमा पनि ३६०० मतदातामा ६०० हाराहारी मात्रै मत खसेको थियो । एउटा निर्वाचन क्षेत्र भएका जिल्ला मात्र नभई काठमाडौं जिल्लामै मत कम खसेको छ । काठमाडौं क्षेत्र नं. ३ मा १६०० बढी मतदाता रहेकामा करिब ७०० मत मात्र खसेको थियो । सिन्धुपाल्चोकमा ९ हजार ३७९ संगठित सदस्यमध्ये ४१ प्रतिशत मात्रै भोट खसेको थियो ।
सांसद र उपमेयरले पनि हारे
एमाले लुम्बिनी प्रदेश सभा सांसद रामजी घिमिरे महाधिवेशन प्रतिनिधि पराजित भए । अर्घाघाँची जिल्लाबाट प्रतिनिधिका लागि उम्मेदवार बने पनि उनी विजयी हुन सकेनन् । अर्घाखाँचीबाट पीताम्बर भुसाल, वसन्त श्रेष्ठ, रेशम थापा, शम्भुप्रसाद पोखरेलल, तेजप्राद खनाल र कमलप्रसाद खनाल निर्वाचित भएका छन् ।
महिला खुलातर्फ दीपा आचार्य, विष्णुमाया आचार्य, लक्ष्मी गौतम, सुषमा श्रेष्ठ निर्वाचित भइन् । युवातर्फ तेजबहादुर रायमाझी र दलिततर्फ लिलबहादुर बिक, आशा परियार निर्विरोध चुनिएका थिए ।
कर्णाली प्रदेश सांसद तुलसा मल्ल पनि महाधिवेशन प्रतिनिधि निर्वाचित हुन सकिनन् । रूकुमपश्चिमबाट मल्ल उम्मेदवार बनेकी थिइन् । महिला कोटाबाट उम्मेदवार बनेकी उनले सबैभन्दा कम मत ल्याइन् । त्यहाँ महिलाबाट कौशिला केसी र हिमकुमारी केसी प्रतिनिधि निर्वाचित भएका थिए ।
कोशी प्रदेशका सांसद रमेशकुमार बस्नेत र विजयकुमार राई पनि प्रतिनिधि छानिन सकेनन् । बस्नेत सुनसरी क्षेत्र नम्बर १ मा पराजित भएका हुन् भने राई पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधि बन्न नसकेका हुन् ।
धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकलाकुमारी राना पनि पराजित भइन् । उनी कैलाली–५ निर्वाचन क्षेत्रमा महिला निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकी थिइन् । त्यस क्षेत्रबाट अम्बिका विष्ट र रुकमणि देवकोटा प्रतिनिधि चुनिएका छन् ।
जनप्रतिनिधि र जिल्ला नेतृत्व नै चुनाव हारे
जेनजी आन्दोलनपछि अध्यक्ष केपी ओलीको राजीनामा माग्ने बुद्धिजीवि परिषद्का अध्यक्ष गजेन्द्र थपलिया नै महाधिवेशन प्रतिनिधिमा हराइएका छन् । थपलियाले जेनजी आन्दोलनपछि पार्टी अध्यक्ष ओलीलाई पद त्याग्न सुझाव दिएका थिए । उनले पत्र नै पठाएर तत्काल महाधिवेशन सम्भव नभएकाले केन्द्रीय कमिटीबाटै पद हस्तान्तरण गर्न सुझाएका थिए । पछिल्लो समय उनी ईश्वर पोखरेलतिर खुलेका थिए ।
अध्यक्ष थपलिया मात्रै होइन, परिषद्का महिला उपाध्यक्ष राधा अधिकारी र महासचिव दीपेन्द्र श्रेष्ठ पनि प्रतिनिधिमा पराजित भए । परिषद्बाट पाँच जनाको प्रतिनिधित्व हुनेमा गोविन्दबहादुर शाही, सरोज रेग्मी, सजना घिमिरे, टीका ढकाल र पदमबहादुर बिके निर्वाचित भएका छन् ।
एमालेको विशेष प्रदेश अन्तर्गतको उद्योग व्यवसाय विशेष जिल्ला कमिटीका अध्यक्ष गोविन्द घिमिरे पनि महाधिवेशन प्रतिनिधि निर्वाचित हुन सकेनन् । उनी भने ओलीनिकट हुन् । उक्त कमिटीबाट मदन भण्डारी, राजेन्द्र भण्डारी, मनिषा सुब्बा र यमप्रसाद तिवारी प्रतिनिधि छानिएका छन् ।
एकीकृत समाजवादी एमाले फर्किएका मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल पनि प्रतिनिधि छानिन सकेनन् । मकवानपुर–१ बाट प्रतिनिधित्व गर्ने उनी ईश्वर पोखरेल खेमामा लागेका थिए । पोखरेल सडक दुर्घटनामा परेकाले अहिले अस्पतालमा उपचाररत छन् । अस्पतालबाट उनले वारेशमार्फत् उम्मेदवारी हालेका थिए ।
महाधिवेशनस्थल उपत्यकाका तीनवटै जिल्लाका अध्यक्ष प्रतिनिधि बन्न पाएनन् । काठमाडौंका अध्यक्ष दीपक निरौला, भक्तपुरका अध्यक्ष बचन देउजा र ललितपुर अध्यक्ष पुरूषोत्तम आचार्य प्रतिनिधि बन्न नपाएका हुन् । उनीहरूले नयाँलाई मौका दिन प्रतिनिधि नबनेको बताएका छन् । तर, त्यहाँ गुटको कारणले गर्दा उनीहरू बाहिर परेको स्रोतले बतायो ।
विद्या–पोखरेल समूहमा खुल्ने भयले उनलाई प्रतिनिधि नबनाइएको स्रोतले जनाएको छ । गुण्डुमै छलफल गरेर भक्तपुरमा सर्वसम्मत प्रतिनिधि चयन गरिएको थियो । सिन्धुपाल्चोक जिल्लाका उपाध्यक्ष अर्जुन भण्डारी पनि प्रतिनिधि छानिन सकेनन् । उनले सिन्धुपाल्चोक–२ बाट युवा क्लस्टरमा उम्मेदवारी हालेका थिए ।
महाधिवेशन प्रतिनिधि छनोटमा जातीय विभेद
एमालेको ११औँ महाधिवेशन प्रतिनिधि छनोटका क्रममा दलितमाथि विभेद गरेको पाइएको छ । प्रतिनिधि छनोटका लागि शनिवार भएको मतदानका क्रममा दलित प्रतिनिधि र मतदातामाथि विभेद देखिएको हो । उक्त कार्यको दलित नेताहरूले विरोध जनाएका छन् ।
दलित समुदायमाथि एमालेले संस्थागत रूपमै विभेद गरेको दलित अगुवाको गुनासो छ । दलित अगुवा नेताहरूका अनुसार महाधिवेशन प्रतिनिधिको निर्वाचनमा दलितको भोटसमेत चलेन । एमालेले जिल्लालाई एउटा निर्वाचन क्षेत्र मानेर दलित प्रतिनिधि छनोट गरेको छ । दलित प्रतिनिधि छनोटका लागि दलितले नै मतदान गर्नुपर्ने प्रावधान राखिएको थियो ।
दलितले खुला, महिला र युवा समूहका उम्मेदवारलाई मतदान गर्न पाएनन् । दलित प्रतिनिधिका लागि मतपत्र पनि छुट्टै राखियो भने मत खसाल्ने मतपेटिक पनि छुट्टै थियो । दलितले दलित मात्र चुन्न र चुनिन पाउने प्रावधान राखेर सामाजिक सांस्कृतिक रूपमा उपेक्षित रैथाने दलितलाई झन् साँघुरो र संकिण बनाइएको दलित अधिकारकर्मीहरूले दाबी गरेका छन् ।
‘विवेकहीन निर्णय लिने नेता, तिनको नेतृत्व क्षमता र विभेदजन्य व्यवहारको जति घृणा, निन्दा र भत्र्सना गरे पनि पुग्दैन ।’ एक अधिकारकर्मीले दृष्टिसँग भने । संस्थागत रूपमा विभेद गर्नु गलत भएको एमाले नेताहरू नै बताउँछन् । सामाजिक न्यायको सिद्धान्तविरुद्ध एमालेले प्रावधान राखेको उनीहरूको दाबी छ ।
ओलीविरुद्ध उभिए पोखरेल
पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण रोकेर तेस्रो कार्यकालका लागि सहज नेतृत्व कब्जा गर्ने एमाले अध्यक्ष केपी ओलीको योजनामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिएका छन् । भण्डारी पक्षधर नेताहरूको समर्थनमा पोखरेलले पार्टीको आसन्न २१औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै ओलीलाई अध्यक्ष छाडेर अभिभावकीय भूमिकामा रहनसमेत आग्रहसमेत गरेका छन् ।
पोखरेलले यही मंसिर ४ गतेको केन्द्रीय सचिवालय बैठकमा पार्टीको नेतृत्व लिने गरी अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए । पोखरेलले प्रेस वक्तव्यसँगै भिडियो सन्देशसमेत जारी गरेर पार्टीपंक्तिलाई उम्मेदवारी घोषणाको औपचारिक जानकारी गराएका हुन् ।
२०३२ देखि को–अर्डिनेसन केन्द्रमा आबद्ध ईश्वर पोखरेल पाँच दशकदेखि पार्टीको केन्द्रीय नेतृत्वमा छन् । दुई कार्यकाल महासचिव, एक कार्यकाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका पोखरेल पूर्वराष्ट्रपति भण्डारीको समर्थनपछि शक्तिशाली बनेका छन् ।
भण्डारीकै समर्थनमा उनले पदाधिकारीसहित केन्द्रीय कमिटीमा अलग्गै प्यानल उम्मेदवारी दिने तयारी गरिरहेका छन् । ओलीलाई टक्कर दिन बलियो टिम निर्माणको गृहकार्यमा विद्या–ईश्वर पोखरेल अघि बढेको छ । आवश्यक परे ओलीवरुद्ध विष्णु पौडेललाई अध्यक्षमा उठाउनेसम्मको छलफल विद्या र ईश्वरबीच चलेको स्रोतले जनाएको छ ।
पोखरेलले आफू सामूहिक नेतृत्व र सहकार्यमा पार्टी चलाउनुपर्छ भन्ने मान्यतामा रहेको प्रस्ट्याएका छन् । उनले तिनै विचारका आधारमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । ‘जीवनका उतारचढावमा इमान र निष्ठालाई कहिल्यै डगमगाउन दिएको छैन । यो नै मैले आर्जन गरेको नैतिक बल हो । शक्तिमा होइन, विधि, समन्वय, सामूहिकता र सहकार्यमा म विश्वास राख्छु । पोखरेलले भनेका छन् ।
उम्मेदवारी घोषणासँगसँगै ईश्वर पोखरेलले आफैँले विगतमा अगाडि सारेको मान्यतामा उभिएर नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निभाएर अभिभावक बन्न अध्यक्ष ओलीको ध्यानाकर्षणसमेत गराएका छन् ।
उम्मेदवारी घोषणाका क्रममा उनले स्कुले जीवनदेखि न्याय, समानता र स्वतन्त्रताप्रति समर्पित भएर यहाँसम्म आइपुगेको तथा मधेशको तातो घामदेखि हिमालको चिसो सिरेटोसम्मका भूगोलमा पार्टी निर्माणमा क्रियाशील हुँदै मैले मूल्यवान अनुभव र शिक्षा हासिल गरेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्–सामाजिक रूपान्तरण, व्यवस्था परिवर्तन र पार्टी निर्माणका क्रममा लामो र कठोर भूमिगत जीवन बिताएको छु । जेलनेल भोगेको छु, यातना सहेको छु । संसदीय र राजकीय जिम्मेवारी सम्हालेको अनुभव छ । नेपालको लोकतान्त्रिक आन्दोलन र एमालेको निर्माण मेरा लागि जीवनमा कहिल्यै नभुल्ने पाठशाला र विश्वविद्यालयका रूपमा रहेका छन् । लाखांँ जनसमुदाय र हजारांँ पार्टी सदस्यहरूको न्यानो माया र स्नेही व्यवहारप्रति म सदैव ऋणी तथा कृतज्ञ छु । राष्ट्र, जनता र पार्टीलाई सदैव शिरमा राखेको छु ।
महाधिवेशनमा अलग्गै दस्ताबेज बनाउँदै पोखरेल
विद्या–ईश्वर पक्षले जेन–जी आन्दोलनपछिको परिस्थितिमा आएको फेरबदल र निष्कर्षलाई अपडेट गर्नुपर्ने आवश्यकता औँल्याउँदै ११औँ महाधिवेशनमा राजनीतिक तथा सांगठनिक विस्तारित दस्ताबेज प्रस्तुत गर्ने तयारी गरेका छन् । हिजोका कतिपय निष्कर्षलाई नयाँ सन्दर्भमा अद्यावधिक गर्न आवश्यक रहेको भन्दै दस्तावेजको तयारीमा लागेको बताइएको छ ।
‘महाधिवेशनसमक्ष प्रस्तुत गर्ने राजनीतिक तथा सांगठानिक दृष्टिकोणको विस्तारित दस्ताबेज निकट भविष्यमा सार्वजनिक गर्नेछु । सबैको साथ र सुझावको अपेक्षा गर्दछु । पोखरेलले भनेका छन् । उनले पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनस्र्थापित गरिनुपर्ने तथा नेतृत्व विकास र हस्तान्तरणको सहज प्रक्रियालाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन् ।
विद्यालाई पार्टीमा फर्काउने प्रतिबद्धता
पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी काममा फर्काउने प्रतिबद्धता पनि जनाएका छन् । चार दशकभन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गरेकी एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले राष्ट्रपतिजस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय भएको पोखरेलको भनाइ छ ।
‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढंगले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।’ पोखरेलले भनेका छन् ।
विद्याको गुनासो–नेतृत्वले अनुचित तरिकाले सदस्यता रोक्यो
विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु । महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो आम जनताको समेत महत्वपूर्ण सरोकारको विषय हो ।
विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्ष अघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिनेनैछ ।
मैले दुइवर्ष अघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु ।
सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा–भरोसाको केन्द्र तथा हाम्रो आस्था र विश्वासको धरोहर नेकपा (एमाले)को यो महाधिवेशन पूर्ण रूपले सफल होस् भन्ने अन्तरमनबाटै शुभेच्छा व्यक्त गर्दछु ।
ओलीलाई पल्टाउने रणनीति
विद्या–ईश्वर समूहले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव रघुवीर महासेठलाई महत्वपूर्ण जिम्मेवारी दिएर ओलीलाई हराउने रणनीति बनाएको छ । उनीहरूलाई भित्र्याएर ओलीलाई महाधिवेशनबाट बिदा गर्न विद्या–ईश्वर समूहका नेताहरू त्याग गर्न तयार भएका छन् ।
पौडेलसँग देशभर प्रतिनिधि छन् भने गुरुङ गण्डकीमा बलियो छन् । महासेठको मधेसमा राम्रो छ । त्यसैले उनीहरूलाई एक–एक स्थान माथि रहने गरी विद्या–ईश्वर समूहले अघि सार्ने तयारी गरेको छ ।
दुई पटक पार्टी अध्यक्ष र चार पटक प्रधानमन्त्री भइसकेकोले अब ओलीले विश्राम लिनुपर्ने विद्या–ईश्वर समूहको माग छ । ओलीले आफैँ विश्राम नलिए महाधिवेशनमा पराजित गरेर नेतृत्व हस्तान्तरण गर्ने रणनीति छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन, सरकारी बर्बर दमन र विध्वंसपछि ओलीप्रति युवा पुस्ता आक्रोशित छ । यस्तै, ओलीले भने योगेश भट्टराईलाई आफ्नो गुटमा भित्र्याएर उम्मेदवार बनाउने कोसिस गरिरहेको स्रोतले जनायो ।
ओलीकै उपस्थितिमा दुव्र्यवहार
एमाले पार्टी कार्यालयमा नेता कर्ण थापामाथि दुव्र्यवहार भएको छ । ११औँ महाधिवेशनको लोगो सार्वजनिक गर्न अध्यक्ष केपी ओलीसहितका नेता पार्टी कार्यालय च्यासलमा पुगेका बेला थापामा दुव्र्यवहार भएको हो ।
पार्टी कार्यालयको प्यासेजमा हिँडिरहेका थापालाई धकेलेर ओलीका लागि बाटो क्लियर गरिएको हो । आफूलाई धकेलेर हिँडिरहेको ठाउँबाट पन्छाएपछि थापाले ‘के गरेको’ भन्दै आपत्ति जनाएका थिए । ११औँ महाधिवेशनमा थापा ईश्वर पोखरेलको पक्षमा उभिएका छन् । पोखरेलको पक्षमा लागेका थापालाई ओली पक्षका कार्यकर्ताले दुव्र्यवहार गरेका हुन् ।











