
काठमाडौं । ललितपुरको एकान्तकुनामा पिकअपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।
गएराति यातायात कार्यालय अगाडी एकान्तकुनाबाट सातदोबाटो जाँदै गरेको प्रदेश–३–०१–०२४ च ९६७४ नम्बरको पिक अपले बाटो काट्दै गरेकी करिब ४० वर्षीया महिलालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी पैदल यात्रीको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
दुर्घटनापछि पिकअप चालक १९ वर्षीय हेमराज विक, कार चालक २८ वर्षीय सुशान्त महर्जन र मोटरसाइकल चालक १९ वर्षीय सुमित शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











