Logo
Logo

महाधिवेशन तोकिएकै मितिमा गर्न देउवाको जोड


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुस २६-२८ मा हुने १५औं महाधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: deuba.jpg

बिहीबार महाराजगञ्जस्थित आफ्नो भाडाको निवासमा नियमित महाधिवेशन पक्षधर युवा नेताहरूसँगको भेटमा उनले महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको स्पष्ट पारे ।

देउवाले युवाले महाधिवेशन सफल बनाउन निर्णायक भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै पार्टीलाई एकत्रित र सुदृढ बनाएर आगामी निर्वाचनतर्फ केन्द्रित हुन निर्देशन दिए । उनले विशेष महाधिवेशनबारे भइरहेका चर्चा–प्रचारलाई असान्दर्भिक ठहर गर्दै पार्टी नियमित महाधिवेशनको प्रक्रियामा अघि बढिसकेको बताए ।

भेटमा सहभागी युवा नेता सरोज थापाका अनुसार, “सभापतिज्यूले महाधिवेशन सौहार्दपूर्ण रूपमा सम्पन्न गर्न सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने र युवाले सक्रिय रूपमा भूमिका खेल्नुपर्ने निर्देश दिए ।”

युवानेताहरूले देउवासँग पार्टीको पुनर्गठन, पुस्तान्तरण र रुपान्तरणको प्रक्रिया वडादेखि केन्द्रसम्म तीव्र ढंगले अघि बढाउनुपर्ने माग राखे । साथै महाधिवेशनमा युवाको प्रभावकारी उपस्थिति सुनिश्चित गर्न तथा आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाका चुनावमा स्वच्छ छवि, आर्थिक पारदर्शिता र क्षमता भएका युवा तथा नयाँ अनुहारलाई अघि सार्न आग्रह गरे ।

देउवासँगको छलफलमा बागलुङ कांग्रेसका सभापति जीत शेरचन, नेविसंघका पूर्वउपाध्यक्ष पुष्प शाही, पूर्वमहामन्त्री सरोजकुमार थापा, पूर्वकेन्द्रीय सदस्य थलकुमार लिङ्खा, केन्द्रीय सदस्य मनिषजंग थापा, गीता गुरूङ, तरुण दलका केन्द्रीय सदस्य तीर्थ गौतम, इन्दु शर्मा, किसान नेता अन्जान लामा सहित नियमित महाधिवेशन पक्षधर युवा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्