काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-५ बस्ने चितवन कालिका नगरपालिका-८ घर भएका ४० वर्षीय श्याम चन्द्र अधिकारी, काठमाडौं महानगरपालिका-२६ बस्ने नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१ घर भएका ४४ वर्षीय दिल बहादुर सारू मगर र ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने सर्लाही ब्रह्मपुरी गाउँपालिका-२ घर भएका ३५ वर्षीय चन्द्र भुसण प्रसाद रहेका छन् ।
पक्राउ मध्ये श्याम चन्द्रले अल्बानिया, अजरबैजान, मेसोडोनिया, सर्विया लगायतका विभिन्न देशहरू पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १ करोड २५ लाख ७८ हजार ८ सय रुपैयाँ, दिल बहादुरले सर्विया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ४ लाख ५० हजार रुपैयाँ र चन्द्र भुसणले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ८० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्याम चन्द्रलाई ललितपुर महानगरपालिका-५ बाट मङ्गलवार तथा दिल बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट र चन्द्र भुसणलाई ललितपुर महानगरपालिका-५ बाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये दिल बहादुर र चन्द्र भुसणलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने श्याम चन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।











